परदेशबाट दसैँ सम्झिदा
रुविना कार्की
काठमाडौं : नेपालीहरूको सबैभन्दा ठुलो चाड दसैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दसैँको उमङ्ग छाएको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ ।
गाउँघर, सहर बजार र बस्तीहरू सरसफाइ गर्दै चिटिक्क पार्न थालिएको छ । कतिपय परदेशीहरू घर फर्किएका छन् भने कतिपय विदेशी भूमिमै दसैँ मनाउदैछन् । नेपाल आउन नपाएकाहरूले यस्तो अवस्थामा आफू स्वदेश हुँदा मनाएको सम्झँदासम्झँदै मन बुझाउन पर्ने हुन्छ । रुविना कार्की अहिले अस्ट्रेलियामा छन् ।
अस्ट्रेलियाको व्रिस्वेनमा बसोबास गर्दै आएकी रुविनाले यो पटक आफ्ना बुवा आमालाई दसैँ मनाउन अस्ट्रेलिया नै बोलाइन् । विगतमा दसैँमा बुवा आमाको हातबाट टिका र आर्सीवाद ग्रहण गर्न नपाएको तितो अनुभव मेटाउन उनले बुबा आमालाई नै बोलाइन् ।
कामको व्यस्तताले गर्दा आफू आउन नपाएपछि बुवा आमा लाई नै उनले निमन्त्रणा गरिन् । भरोसा कम्युनिटी सर्भिसको सिइयो समेत रहेकी रुविना बुवा आमाको अस्ट्रेलिया आगमनले हर्षित छन् । तनहुँको भानु नगरपालिकामा जन्मिएकी उनको उच्च शिक्षा भने काठमाडौँमा भयो । प्रदेशमा रहेकी उनले आफ्नो र परिवारको दसैँ अनुभव यसरी पठाइन्
रुविना कार्की : देशमा जस्तो चाडबाड हुँदैन परदेशमा
परदेशमा देशको जस्तो दसैँ त हुँदैन । तर पनि साथीभाइ मिलेर यसो पीडा भुलाउने कोसिस भने गर्छौ । तर परिवारभन्दा टाढा रहेर जति नै जे गरे पनि मन खल्लो हुन्छ ।
यो पटक भने मेरो स परिवार यतै भयौ रमाइलो हुनेवाला छ । मेरो बुवा देवेन्द्र बहादुर कार्की , आमा मुना कार्की , भाइ अभिषेक , बुहारी स्वर्णीमा र मेरा श्रीमान् सुमन अधिकारी र प्यारी छोरी सँगै दसैँ मनाउँदै छौँ । सासू ससुरा सबै सँगै मनाउने रहर थियो तर यो पटक जुरेन ।
परदेशमा कहाँ सोचे जस्तो सबै कुरा हुन्छ र ? यहाँ त विगतलाई सम्झेर रमाउनुपर्ने हुन्छ । हामी सानो हुँदा काठमाडौँबाट तनहुँ जान्थ्यौँ कति रमाइलो थियो त्यो समय । लहलह झुलेका धानको डिलबाट सुगन्ध लिँदै उकाली ओराली गरेर आफन्तकहाँ टिका लगाएको निकै याद आउँछ ।
साइड ब्याग भिरेर सबैको प्यारी बनेर जाँदा कम्ती त रमाइलो लाग्थेन । निधारभरि रातो टिका, जमरा र ठुला बडाको आशीर्वादले मनै फुरुङ हुन्थ्यो। साँझ परेपछि कसको कति पैसा भयो भनेर गन्ने गर्थ्यौँ। गाउँको दसैँ कति रमाइलो थियो। न कुनै पिर चिन्ता, जताततै खुसी खुसी। अहिलेको दसैँ खै कता छ?
मुना कार्की
दसैँको महिना लाग्न साथ बिहानै उठिन्थ्यो। त्यो शीतल हावा चिसो सिरेटोले मनमा एक किसिमको खुसी दिन्थ्यो। आमासँग रातो माटो र कमेरो भिजाएर पोतरीले घर लिपिन्थ्यो । यो पटक मैले पहिलो पटक परदेशमा दसैँ मनाउँदै छु । धेरै पछि सपरिवार सँगै दसैँ मनाउन पाउँदा निकै खुसी छु ।
तैपनि आफ्नो देशमा नहुँदा कता कता खल्लो हुँदो रहेछ । गाउँघरको जस्तो दसैँ त कहाँ हुँदो रहेछ र । पहिला पहिला दसैँलाई स्वागत गर्ने आफ्नै तौरतरिका थिए ।
आमाहरूले चिउरा कुट्न धान भिजाएपछि दसैँ आएको जस्तो हुन्थ्यो । धान भिजाएर रातभरि ढिकीमा चिउरा कुटिन्थ्यो । पिङ हाल्ने रौनक गाउँभरि हुन्थ्यो र पो दसैँ आउँथ्यो । अहिले सबै कुरा हराए । त्यही पनि सम्झना भने मनभरि छ ।
देवेन्द्र कार्की
हाम्रो समयमा त दसैँ भनेको नयाँ कपडा पाउने चाड हुन्थ्यो । वर्ष दिनमा एकपटक मात्र नयाँ कपडा पाइने भएकाले दसैँ खास थियो ।
वर्षमा एक चोटि पाएको त्यो एक जोडी कपडा पाउँदा पनि दिनभरि लगाएर टोलभरि सबैको ध्यान आफूतिर तानिथ्यो।
अभिषेक कार्की
मातृभूमिमा दसैँ मनाएको खुवै याद आउँछ । कति रमाइला थिए ती दिन , त्यो दसैँ । कहिले विद्यालय बन्द होला र गाउँ जाउला भन्ने हुन्थ्यो । काठमाडौँबाट गाउँ जान निकै रमाइलो लाग्थ्यो ।
बच्चा बेला भएकाले पैसाको बढी महत्त्व थियो । कस्तो धेरै दक्षिणा हुने भनेर साथीहरूसँग प्रतिस्पर्धा नै हुन्थ्यो । तर हे गर्नु उकाली ओराली गर्दै गाउँ पुग्यो तर के गर्नु मामा घर बाहेक अन्त छोरालाई पैसा नदिने ।
टिका लगाउन सँगै गएको दिदीलाई दक्षिणा दिने तर मलाई भने स्याउ, केरा दिएर टार्ने त्यो बेला सम्झेर निकै हाँसो उठ्छ अहिले । प्रदेशमा हुँदा मातृभूमिको मायाले तान्दो रहेछ । आशा छ अर्को दसैँ नेपालमै मनाउन पाउने छौँ ।
Share on Twitter