कर्मभूमिबाट मातृभूमिलाई सम्झँदा
२०३२ सालमा धरानको सुनसरीमा जन्मिएका विवेक थापा अहिले अस्ट्रेलियामा छन् । सन् १९९६ मा अध्ययन कालागि अस्ट्रेलिया पुगेका विवेक अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका उनी सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पुगे ।
सुरुवातका दिनमा निकै सङ्घर्ष गरेका उनी अहिले अरुलाईपनि रोजगारी दिने अवस्थामा पुगेका छन् । आफ्नो व्यवसायसङै उनी सामाजिक काममा समेत सक्रिय छन् । धरानको सदन मावि मा अध्ययन गर्दादेखि नै उनी सामाजिक काममा सक्रिय थिए ।
तीन जना दाजुभाइ मध्यका जेठा विवेक पढाइसँगै साङ्गीतिक क्षेत्रमा पनि रुचि राख्थे । बुबा हरि बहादुर थापा ( प्रकाश) रेडियो नेपालमा गीत गाउने भएकाले पनि उनका बुवाको प्रभाव सानै देखी थियो उनी गितार , मादल र ड्रम सेट बजाउन पोख्त छन् । अहिले पनि साथीभाइको जमघट भयो भने विवेकलाई गीत नगाई सुखै छैन । उनले गीत रेकर्ड गर्ने तयारी पनि गरेका छन् ।
गीत सङ्गीत मात्र होइन उनी राजनीतिमा पनि सानै देखी सक्रिय थिए । कक्षा ९ मा पढ्दा नेपाल विद्यार्थी सघमा आबद्ध भएर शैक्षिक आन्दोलनमा होमिएका विवेक नेपालको धेरै परिवर्तनको आन्दोलनमा होमिएका थिए । हाल अस्ट्रेलियामा पनि उनी लिबरल पार्टीका सक्रिय सदस्य भएर काम गरिरहेका छन् । सन् १९९८ मा नेपाल प्रजातान्त्रिक संघ अस्ट्रेलियाको सदस्य बनेका उनी सदस्य पछि महासचिव र अध्यक्ष भएर काम गरे ।
यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए)मा स्थापनाकालदेखि नै लागेका उनी एक कार्यकाल अस्ट्रेलियाको कार्यकारिणी सदस्य र र दुई पटक सल्लाहकारको जिम्मेवारी पाएका थिए । उनी एक पटक मानार्थ केन्द्रीय सदस्य समेत बनेर गैर आवासीय नेपालीहरूलाई एकताबद्ध गर्न सक्रिय भएका थिए । दुई छोरी र श्रीमती सहित अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका विवेक शैक्षिक परामर्शदाताका रूपमा काम गर्दै आएका छन् ।
आइटीमा स्नातक गरेका उनी अहिले अस्ट्रेलियाको स्थायी बासिन्दा हुन् । उनले सिड्नी र क्यानबेरामा दुई वटा कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् भने नेपालमा पनि काठमाडौँमा ओपल कन्सल्टेन्सी सञ्चालनमा छ ।
काठमाडौँको पुतलीसडकमा रहेको ओपल कन्सल्टेन्सीले माइग्रेसन र भिसा सम्बन्धी परामर्श दिने गर्दछ । विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका उनी नेपाली कन्सल्टेन्सीहरूको संस्था अस्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट अलाइन्सको संस्थापक अध्यक्ष समेत भएका थिए ।
सुरुवातमा रेस्टुरेन्ट क्याफेमा काम गरेर आफ्नो क्याम्पसको शुल्क तिरेका उनले मेहनत र संघषले उज्यालो बाटो देखायो । अहिले उनले रोजगारी समेत दिएका छन् । अस्ट्रेलिया पुगेपछि उनले होटेल देखी बहुराष्ट्रिय कम्पनीहरूमा समेत काम गर्ने अवसर पाए । सफलता र सबैको माया कमाउँदै गर्दा पनि मातृभूमिको सम्झनाले भित्रभित्र पिरोल्ने गरेको उनको भनाई छ । अझ चाडपर्व आउँदा त झनै मातृभूमिको सम्झनाले उनलाई सताउँछ ।
मातृभूमिलाई सम्झँदा
धरानको सुनसरीमा जन्मिएको म कर्मले आज नौ डाँडापारि ल्याएको छ । मनमा धेरै सपना बोकेर अस्ट्रेलिया आएको म प्राय सबै कुरा आज पुरा भएको छ । तर सबै चिज हुँदाहुँदै पनि आफ्नो मातृभूमिको काखमा लुटपुटिन नपाउँदा सबै फिक्का हुँदो रहेछ ।
सायद हवाई जहाज नबनेको भए आज म आफ्नो मातृभूमिबाट टाढा हुनु पर्दैन थ्यो की । हवाईजहाजबाट संसारले निकै ठुला उपलब्धि मात्र हासिल गरेको छ । संसारका मान्छेहरू भुर्रर चराजस्तै उडेर विश्वको एक कुनाबाट अर्को कुनामा सहजै पुग्यो।
कहिलेकाहीँ यसो सोच्छु यदि जहाज नबनेको हुँदो हो त संसारका यति धेरै मान्छे आफ्नो जन्मभूमि छोडेर कर्म भूमितिर पाइला अगाडि बढाउँदैनथे कि ? म पनि त्यसको भुमरीमा पर्थिन की ? जब मानिस बिदेसिन्छ उसमा आफ्नो जन्मभूमिप्रतिको प्रेम अत्यन्त अगाध रूपमा छताछुल्ल भएर पोखिँदो रहेछ । देशमा दसैँको रौनक सुरु भएपछि मलाई परदेशमा रहेर निधार भरी लगाएको टीकाको याद आउँछ ।
स्वदेशमा मनाइने दसैँ भनेको परिवारको खुसी हो । परदेश लाग्नुभन्दा पहिला मानेको दसैँ सम्झने हो भने आँखा रसाई हाल्छन् । परदेश लागेदेखि नै आफूले चाहेको बेलामा घर जान पाएको छैन ।
त्यसैले पनि जब चाडबाड आउँछ तब गीत सुन्छ । गीतको मिठो धुन र शब्दले पनि गाउँघरमै पुर्याउँछ । घरमा दसैँ मनाउँदा डालाभरि सेल रोटी ,अर्सा झिनिया, चीनी रोटी र विभिन्न परिकार पाक्थेँ ।साथमा पक्कु लगाएको मासु पनि हुन्थ्यो ।
खानेकुरा सँगसँगै अर्को महत्त्वपूर्ण कुरा भनेको परिवारसँगै हुनु हो । यहाँ त साथीभाइ यसो मिलेर रमाइलो गरे पनि देशमा भएजस्तो कहाँ हुन्छ र । तर पनि रमाएजस्तो गर्नुबाहेक हामी परदेशीसँग विकल्प नै के हुन्छ र ।
न यहाँ पारिजातको सुगन्धले दसैँ आएको अनुभूति गराउँछ न त मौसमले नै । न बाबियोको पिङ बाट्ने साथीभाइ भेटिन्छन् । जे भए पनि आफ्नो मातृभूमि भनेको स्वर्ग नै हुँदो रहेछ । जुन कुरा आफूसँग छैन त्यसैको महत्त्व बढी हुने रहेछ ।
Share on Twitter