एमसीसीको प्रसारणलाइनका सबै ठेक्का रद्द,यस्ताे छ कारण
काठमाडौं:मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियोजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनको ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्ने छ ।
अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेको थियो । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।
यो प्रस्तावलाई एमसीसीको मुख्यालयले अनुमति दिएपछि ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई तीन भागमा बाँडेर निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।
गत ८ जेठमा खोलिएको बोलपत्रअनुसार ६ वटा कम्पनीले प्रसारणलाइन बनाउन प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये पाँचवटा कम्पनीमात्रै प्राविधिक रुपमा सफल भएका थिए । भारतका कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड, केईसी इन्टरनेसनल लिमिटेड, लार्सेन एन्ड टर्बो लिमिटेड प्राविधिक रुपमा सफल भएकोमा तिनै कम्पनीले तीनवटै प्याकेजमा आवेदन हालेका थिए ।
एमसीसी परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।
Share on Twitter