प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय हुन बाँकी
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी चीन भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ गति दिनेतर्फ केन्द्रित हुने बताएका छन् ।
संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा नेपाली कांग्रेसका सांसद उदयशम्सेर राणाले चीन भ्रमणका प्राथमिकता र एजेन्डामाथि राखेका प्रश्नको जवाफ दिने क्रममा उनले देशको सम्बन्ध र यसअघिका भ्रमणमा भएका सम्झौता कार्यान्वयनको विषयमा जोड दिने बताएका हुन् ।
‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाइ थप उचाइमा पुर्याउँदै नेपालको सामाजिक आर्थिक विकासका लागि चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा केन्द्रित रहनेछ,’ प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा भने, ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइने छ ।’
यसबाहेक, नेपाल र चीनबीचको सीमा नाकाको सञ्चालनलाई प्रभावकारी बनाउनतर्फ ध्यान दिने समेत प्रधानमन्त्री दाहालको भनाई छ ।‘यसैगरी सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि र व्यापार भ्रमणको मुख्य प्राथमिकता र एजेन्डा हुन्,’ प्रधानमन्त्रीले थपे, ‘विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी योजना समेत चीनको सहयोगमा अघि बढाउने योजना छ ।’
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तर्देशीय बिजुली व्यापार, किमाथांका जलविद्युत आयोजना निर्माण जस्ता विषय मुख्य छन् । प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग समेत बिजुली खरिद–बिक्री सम्झौता सम्पन्न भए उत्पादित बिजुली बेच्ने थप बाटो खुल्नेछ । यस्तै सडक, उर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा ब्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि¸ शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषय समेत प्राथमिकतामा रहने उनको भनाइ छ ।
पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार निर्माणका कार्य सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै उनले रारा लगायतका पर्यटकीय स्थलको विकासका लागि सङ्घीय स्रोतबाट सञ्चालन हुने कार्यक्रमका अतिरिक्त प्रदेश तथा स्थानीय तहबाट समेत आ–आफ्ना कार्य क्षेत्रभित्र रही पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धनका कार्यहरू सञ्चालनमा ल्याउने विषयमा पनि प्राथमिकताका साथ छलफल हुने उनले बताए ।
यस्तै नाग्मा–गमगढी र गमगढी–नाक्चेलाग्ना सडकलाई उच्च प्राथमिकतामा राख्दै हाल विभिन्न खण्डहरूमा कार्य भइरहेको बारेमा पनि सदनमा जानकारी गराए । ‘हाल नाग्मा–गमगढी ६।छ कि।मि। कालोपत्रे र ८ कि।मि। ग्राभेल स्तरमा स्तरोन्नति गर्ने गरी निर्माण कार्य भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘त्यसैगरी गमगढी–नाक्चेलाग्नामा १२ कि।मि। निर्माणको कार्य भइरहेको छ ।’
Share on Twitter