ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर
काठमाडौं:जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । यो प्रकरणमा १८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । पुरानो घटना भएकाले यसमा मुलुकी ऐन, २०२० अनुसारको बिगो दाबी माग गरिएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरुमाथि किर्तेको अभियोग भने लगाइएको छैन ।
किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं स्रोतले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गा फिर्ताको मञ्जुरीनामा दिनेमाथि पनि मुद्दा नचल्ने राय दिएको थियो, तर सरकारी वकिल कार्यालयले उनीहरुलाई जग्गा जफतको प्रयोजनका लागि मात्र प्रतिवादी बनाउने निर्णय गरेको स्रोतको भनाइ छ ।
Share on Twitter