भानुभक्त प्राणी उद्यानको कार्यालयमा लागेको ताला ४ घण्टापछि खुल्यो
कठमाडौं :तनहुँमा रहेको भानुभक्त प्राणी उद्यानको कार्यालयमा लागेको ताला ४ घण्टापछि खुलेको छ । जग्गाको मुआब्जा नपाएको भन्दै भनुभक्त प्राणी उद्यान मुआब्जा पिडित संघर्ष समितिले आज दिउँसो ताला लगाएको थियो ।
तनहुँको व्यास नगरपालिका–११, १२ भानुनगरको ५ र ६ वडामा निर्माणाधीन उद्यानले १४२ घरधुरी प्रभावित बनेका छन् । स्थानीयको ९१२ रोपनी जग्गा उद्यानले अधिग्रहण गरेपछि स्थानीय प्रभावित बनेका हुन् ।
उक्त जग्गाको मुआब्जा नपाएपछि स्थानीयले दवाबमुलक कार्यक्रम सुरु गरेका हुन् । सरकारले आफुहरुको माग सम्बोधन नगरेपछि चरणबद्ध आन्दोलनमा उत्रनु परेको स्थानीय हर्क बहादुर कार्कीले बताए । भोली जिल्ला प्रसाशन कार्यालयमा छलफल गरेर निस्कर्ष निकाल्नेगरी सहमति जुटेको तनहुँबाट देबेन्द्र कार्कीले जानकारी दिए ।
उनले भने ‘भोली सिडियो अफिसमा छलफल गर्ने कुरा भयो अनि हामीले ताला खोल्यौ । यदी हाम्रो माग पुरा भएन भने नयाँ ढंगबाट अघि बढ्ने हाम्रो तयारी छ। हम्रो जग्गा कब्जा गर्ने अनि मुआब्जा दिन्न भन्न मिल्छ ?’यस्तै भानु–६ डाँडाथोकका काजीराम खड्काले सरकार आफ्नै प्रतिबद्धता बाट पछि हटेकाले समस्या आएको बताउछन् ‘प्रधानमन्त्रीले चुनावको बेला मुआब्जा दिने भनेर भाषण गर्नुभयो तर अर्थ मन्त्रालयले बजेट दिएन , हामीले भेट्नुपर्ने जति सबै भेट्यौ आफ्ना समस्या राख्यौ तर कसैले कुरा नसुनेपछि आन्दोलन गर्न बाध्य भएका हौँ ।’
पृथ्वी राजमार्गको छिर्कनदेखि देउराली, घाँसी कुवा उत्तरतर्फका विभिन्न ८ वटा सामुदायिक वन, २ वटा कबुलियती वन, राष्ट्रिय वन र निजी जग्गासमेत समेटेर ४२५ हेक्टर क्षेत्रफलमा चिडियाखानाको संरचना बन्दै छ । तत्कालीन वन तथा वातावरणमन्त्री शंकर भण्डारीको प्रस्तावमा २० माघ, २०७३ को मन्त्रिपरिषद् बैठकले तनहुँमा प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । १८ वैशाख २०७४ मा राजपत्रमा सूचना प्रकाशित भएपछि उद्यानको काम सुरु भएको हो ।
Share on Twitter