समयमै उपचार गरे मिर्गौला बचाउन सकिन्छ ?
काठमाडौं: समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा गरिएको अध्ययनले समयमा नै उपचार गरेको भएमा मिर्गौला बचाउन सकिने देखिएको अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले बताए ।
वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि अध्ययन भएको थियो । अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो । तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उनले बताए ।
ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उनको भनाइ छ । उनका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य संक्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ ।
अस्पतालमा मिर्गौला बिग्रेका ५०० जनामध्ये २२० जना पहिलोपटक अस्पताल आएको प्रमुख कन्सल्ट्यान्ट प्राडा बस्नेतले जानकारी दिए । अध्ययन अनुसार पुरुषको तुलनामा महिलाको बढी मिर्गौला बिग्रने समस्या देखिएको छ । उनका अनुसार पुरुषको तुलनामा महिलामा डेढ गुणा बढी मिर्गौला बिग्रने गरेको छ ।
Share on Twitter