स्वास्थ्य पत्रकारिता संवेदनशील विधा :सभामुख घिमिरे
काठमाडौं: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य क्षेत्रको पत्रकारिता अत्यन्त संवेदनशील भएको बताएका छन्। नागरिकको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित क्षेत्र भएकाले स्वास्थ्य पत्रकारिता अन्य विधाको तुलनामा अझ बढी उत्तरदायित्वपूर्ण हुनुपर्नेमा उनले जोड दिए। स्वास्थ्य पत्रकार मञ्च नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पत्रकारहरूमार्फत नागरिकमा स्वास्थ्य चेतना अभिवृद्धि भएको बताए।
रोग लागेपछि उपचार खोज्नुभन्दा रोग नलाग्न पूर्वतयारी र सचेतना आवश्यक भएको उल्लेख गर्दै उनले यस्ता उपायहरूको जानकारी दिन पत्रकारहरूलाई आग्रह गरे। “तथ्यमा आधारित जनस्वास्थ्यका विषयहरू सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गर्नु चुनौतीपूर्ण छ, तर पत्रकारहरूले त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका छन्,” सभामुख घिमिरेले भने। “विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरू अझ बढी उत्तरदायी हुनुपर्छ भन्ने मेरो मान्यता छ। स्वास्थ्य पत्रकार मञ्च र स्वास्थ्य पत्रकारहरू यसमा सजग हुनुहुन्छ भन्ने मलाई विश्वास छ।”
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारमा पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको बताए। उनले राज्यका कमजोरीहरू उजागर गरेर सुधारको वातावरण सिर्जना गर्न पत्रकारहरूको योगदान महत्वपूर्ण रहेको बताए। “गलत कामलाई औंल्याउनु र सही कामलाई समर्थन गर्नु आवश्यक हुन्छ,” मन्त्री पौडेलले भने।
राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छले स्वास्थ्य पत्रकारिताले देशको स्वास्थ्य प्रणाली सुधारमा उल्लेखनीय योगदान दिएको बताउँदै मञ्चलाई अझ क्रियाशील र दबाबमूलक भूमिकामा सक्रिय रहन आग्रह गरे। स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य पत्रकारहरूलाई राज्यको चौथो नभई तेस्रो अंगजस्तै लाग्ने प्रतिक्रिया दिए। “स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर निगरानी र खबरदारीले उल्लेखनीय सुधार ल्याएको छ,” उनले भने। “तथ्यमा आधारित पत्रकारिता नै विश्वसनीय पत्रकारिता हो।”
विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा.राजेश सम्भाजी राव पाण्डवले सञ्चारकर्मीहरूको जनस्वास्थ्य सचेतनामा भूमिका महत्वपूर्ण रहेको बताउँदै डब्लुएचओ र मञ्चबीच जनस्वास्थ्यका विषयमा संवाद र सहकार्य भइरहेको जानकारी दिए। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले विट पत्रकारिताको विकासक्रमसँगै स्वास्थ्य पत्रकारिता अघि बढेको बताइन्। “स्वास्थ्य विटका पत्रकारहरूको संस्थाको रूपमा मञ्चको स्थापना हुनु नै यसको प्रमाण हो,” उनले भनिन्। “महासंघ मञ्चसँग सहकार्य गर्न तयार छ।”
मञ्चकी पूर्वअध्यक्ष कल्पना आचार्यले संस्थाको स्थापना कालका अनुभवहरू सुनाएकी थिइन्। मञ्चका वर्तमान अध्यक्ष भिषा काफ्लेले संस्थाको १० वर्षे यात्रा, चुनौती र आगामी कार्यदिशा प्रस्तुत गर्दै संस्थाले गरेका प्रयासबारे प्रकाश पारेका थिए ।
Share on Twitter