तिलगंगामा महिला पत्रकारहरुको आँखा परिक्षण
काठमाडौं: महिला पत्रकारहरूलाई मध्यनजर गरी संचालन भएको दृष्टि जाँच कार्यक्रममा ५० जना पत्रकारले आँखा परिक्षण गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठान, क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोग एवं इन्टरनेशनल एसोसिएशन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइवार्ट नेपाल) च्याप्टरको समन्वयमा निःशुल्क आँखा परिक्षण गरिएको हो ।
आँखा परिक्षण गराएका मध्ये १० जनालाई थप विशेषज्ञ सेवाकालागि सुझाव दिइएको आइवार्ट नेपाल च्याप्टर अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् । महिला पत्रकारहरूलाई आँखा स्वास्थ्यप्रति सजग बनाउन तिलगंगा आँखा प्रतिष्ठानद्वारा विशेष आँखा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । निःशुल्क आँखाको परीक्षणका साथै विशेषज्ञहरूसँग अन्तरक्रिया समेत भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङले् नियमित आँखा परीक्षण र सचेतनाले दीर्घकालीन दृष्टि समस्याबाट बच्न सकिने बताइन् । पत्रकारहरु अत्यधिक डिजिटल स्क्रिनको प्रयोग र वातावरणीय जोखिमको चपेटामा पर्ने भएकाले समय समयमा आँखा परिक्षण गर्नुपर्नेमा जोड दिइन् । आँखा दृष्टि गुमाएका वा जोखिममा परेका व्यक्तिहरूलाई उपचार सेवा पुर्याउने दीर्घकालीन योजना अनुुरुप क्योर ब्लाइन्डनेस प्रोजेक्टले लामो समयदेखि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ ।
कार्यक्रममा क्योर ब्लाइन्डनेस प्रोजेक्टका नेपाल प्रमुख पुनम भण्डारीले नेपालमा करिब १० लाख मानिस अन्धोपनको जोखिममा रहेको बताइन् । उनले यो समस्या सम्बोधन गर्न सबै मिलेर अघिबढ्न्पर्नेमा जोड दिइन् । भण्डारीले पत्रकारहरूले समुदायमा सही र रोचक जानकारी पु¥याउने, मिथकहरू तोड्ने, रोकथामयोग्य आँखा स्वास्थ्यबारे जनचेतना जगाउने, र विशेषगरी महिला र बालबालिकालाई समयमै सेवा लिन प्रोत्साहित गर्नेमा महत्वपूर्ण भूमिका खेल्ने कुरा जोड दिइन् ।
उनले सचेतनाको अभावका कारण कोही पनि पछाडि नपरोस् भन्ने सुनिश्चित गर्नका लागि मिडियाले भुमिका खेल्नुपर्ने बताइन् । इन्टरनेशनल एसोसिएशन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइवार्ट नेपाल) च्याप्टर महिलामुखी सञ्चारकर्मीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो । यसले लैङ्गिक समानता, नैतिक पत्रकारिता र सञ्चारमार्फत महिलाको सशक्तिकरणका लागि काम गर्दै महिलाको आवाजलाई सशक्त बनाउने, सामाजिक मुद्दामा चेतना अभिवृद्धि गर्ने र सकारात्मक परिवर्तनका लागि सहकार्य प्रवद्र्धन गर्ने काम गर्दै आएको छ ।
Share on Twitter