पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानपुगेर मन्त्री पौडेलले भने :अझ उदाहरणीय बनाउनुपर्छ
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्नुपर्ने बताएका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानको अन्य सरकारी अस्पतालको तुलनामा सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताएका हुन् ।
‘तपाईँहरूको सेवा तुलनात्मक रूपमा राम्रो छ । तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ’, उनले भने । मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकोमा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे । उनले अब विशिष्टिकृत बिरामीहरूको पनि उपचार हुने गरी सेवा विस्तार गर्न अस्पताललाई सुझाव दिए ।
आफू अस्पताललाई के चाहिएको छ भनेर बुझ्न पनि आएको भन्दै मन्त्री पौडेलले सेवालाई प्रभावकारी बनाउन चाहिने कुरामा सघाउन मन्त्रालय तयार रहेको बताए । अस्पताल अवलोकनका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति डा। राजेश गंगोलले आफ्नै श्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गरिएको भन्दै अस्पतालको नयाँ भवनका लागि स्रोत खोजिदिन आग्रह गरेका थिए ।
मन्त्री पौडेलले अस्पतालमा बिरामीको चाप र साँघुरो भवनका कारण परेको अप्ठेरो आफूले महसुस गरेको भन्दै प्रतिष्ठानको भवनका लागि सकेसम्म सरकारी नभए वैदेशिक सहायता भए पनि खोज्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री पौडेलले विपद्का क्रममा घाइते बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए ।प्रतिष्ठानका रजिस्ट्रार डाक्टर पारसकुमार आचार्यले दैनिक १५ सयको हाराहारीमा ओपीडीमा बिरामीको उपचार गरिएको भन्दै सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
Share on Twitter