पर्वत अस्पतालमा करोडौँ मूल्यका भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
पर्वत: पर्वत अस्पतालमा रहेका करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् ।
तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् । गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ ।
तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन । भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको स्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिए। एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनको भनाइ छ ।