सार्वजनिक बिदामा ओपिडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

काठमाडौं : नेपाल चिकित्सक संघले सार्वजनिक बिदाको दिनमा अस्पतालहरुमा ओपिडी संचालन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। स्वास्थ्यकर्मीको स्वास्थ्य र सेवा सुविधालाई बेवास्ता गर्दै बिदामा ओपिडी चलाउने निर्णय अव्यवहारिक भएको भन्दै संघले निर्णय फिर्ता लिन माग गरेको हो।आज एक विज्ञप्ति जारी गर्दै बिदाको दिन समेत ओपीडी चलाउने प्रधानमन्त्री कार्यालयको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक बताएको उल्लेख गरेको छ।
सरकारी अस्पतालहरु २०४८ सालको दरबन्दीमा चलिरहेको अवस्थामा जनशक्तिमा सुधार नल्याई सार्वजनिक बिदामा समेत काम लगाउने निर्णय असान्र्दभिक भएको संघले जनाएको छ। अन्र्तराष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम गर्ने अवधी सातामा ४० घण्टा तोकेको भए नेपालमा स्वास्थ्यकर्मीहरु लागातार २४ देखि ७३ घण्टा काम गर्न बाध्य रहेको अवस्थामा स्वास्थ्य मन्त्रालयको निर्देशन अव्यवहारीक रहेको संघले औंल्याएको छ।
'अन्तर्राष्ट्रिय श्रम संगठनले व्यक्तिको श्रम अवधि ( काम गर्ने समय) हप्ताको ४० घण्टा तोकेको भएपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु दिनरात नभनी २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको छ । कम दरबन्दी तथा ज्यादै न्यून सुविधामा समेत २०७२ सालको भूकम्प तथा कोभिड १९ महामारीमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफ्नो ज्यान जोखिममा राखी अनवरत रूपमा अहोरात्र सेवामा खटेको कुरा सबैलाई अवगत छ,' विज्ञप्तिमा भनिएको छ।
कामको अत्याधिक बोझ तथा लगातारको तनावले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिवारिक जीवनमा समेत गम्भीर असर पर्न गई परिवारमा असमझदारी, वैवाहिक जीवनमा तनाव तथा डिभोर्ससम्म हुने गरेको बताइएको छ। कतिपय स्वास्थ्यकर्मीहरुमा अत्याधिक तनावका कारण जटिल मानसिक समस्याहरु उत्पन्न भई आत्महत्या समेत देखा परिरहेको अवस्थामा बिदाको दिनमा समेत थप कार्यबोझ थपिदिने कार्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि ठूलो अन्याय भएको संघको ठहर छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले भदौ ७ मा सार्वजनिक बिदामा सबै अस्पतालहरुमा ओपिडी सेवा सन्चालनमा ल्याउन स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रको आधारमा स्वास्थ्य मन्त्रालयले भदौ १७ मा स्वास्थ्य संस्थालाई ओपिड संचालनमा ल्याउन निर्देशन दिएको थियो।