रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाल साधारण सदस्यसमेत नरहने गरी निष्कासित
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।
पार्टी अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । उनलाई ३५ दिनको समय दिएर प्रस्टीकरणको मौका पनि दिइएको थियो । तर त्यसबिचमा ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने‚ उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरू विरुद्ध बोलेका थिए । त्यी सबै विषयले पार्टीलाई हानी गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो ।
त्यसपश्चात् यसअघिको केन्द्रीय समिति बैठकको निर्णयअनुसार रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो । अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । यता डा ढकालले भने आफुलाई रवी लामीछाने कल्बले हटाएको दाबी गरेका छन् । उनले सामाजिक संजालमा आफुलाई हटाउने अधिकार कल्बलाई नभएको समेत उल्लेख गरेका छन् ।
Share on Twitter