एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मुत्यु भएका चिनियाँ नागरिकको सनाखत
काठमाडौं:नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार चिनियाँ नागरिकको सनाखत भएको छ । साउन गत २३ गते बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा परी क्याप्टेन अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको थियो । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट पहिचानको आधार संकलन भएर मृतकको दाँतको परीक्षणबाट सनाखत भएको हो । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) को शव सनाखत भएको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।
मृतकको सनाखत शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली पोस्टमार्टमबाट गरिन्छ । डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव सनाखतका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने डा. चौधरीको भनाई छ ।
Share on Twitter