स्वास्थ्य बीमाको दायरा ५ लाख बनाउने प्रस्ताव
काठमाडौं: स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने गरी बीमाको नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने बताएका छन् ।पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम सार्बजनिक गर्दै मन्त्री पौडेलले कार्ययोजना सफल बनाउन स्रोत सुनिश्चित गर्न लागेको बताए । उनले स्वास्थ्य बीमाको दायरा कम्तीमा ५ लाख बनाउने, र औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बीमामा समेट्नका लागि नीतिगत र कानूनी व्यवस्थामा पुनरावलोकन गर्ने जानकारी गराए ।
बीमा व्यवस्थापन सूचना प्रणाली परिमार्जन गरी रियल टायम दाबी प्रविष्टिका लागि सवै सेवा प्रदायकलाई एकीकृत प्रणालीमा सामेल गराउने पौडेलले बताए । हाल विद्यमान स्वास्थ्य कोरकोषबाट थप रकम स्वास्थ्य बीमामा उपलब्ध गराउने व्यवस्था गर्ने मन्त्री पौडेलको कार्ययोजनामा उल्लेख छ । यस्तै मन्त्री पौडेलले जलनको उपचार निःशुल्क हुने बताएका छन् ।
उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन् । प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनले बताए । मन्त्री पौडेलले बर्सेनि एक पटक राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण हुने समेत बताए । सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री पौडेलले बताए । ४० वर्षमाथिका सबै नागरिकको रोग पत्ता लगाउन स्क्रिनिङ गर्ने, वैकल्पिक चिकित्सा तथा आयुर्वेदलाई प्राथमिकता दिने, राष्ट्रिय खेलाडीको निशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना पनि समेटिएको छ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य र पोषण सम्बन्धि विषय पनि मन्त्री पौडेलको योजना उल्लेख छन्। आन्तरिक बसाईँ सराइको काराण पत्ता लगाउने, सीमान्तकृत एवं लोपोन्मुख जातिको संरक्षण गर्ने, आप्रवासन प्रवृत्तिलाई नियमन गर्न कार्ययोजना निर्माण गर्ने पनि मन्त्रीको योजनामा छ। मन्त्री पौडेलले अहिले बागमती र लुम्बिनीमा मात्रै क्यान्सर उपचार सेवा सञ्चालनमा रहेकोमा त्यसलाई सातै प्रदेशमा लैजाने, सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने योजना रहेको बताए ।
सवै कार्ययोजनाको आवश्यक पूर्वाधारको योजनासहित कार्ययोजना तयार रहेको उनको भनाइ छ । त्यस्तै औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने, सम्पूर्ण मेडिकल डिस्पोजेवल, इम्प्लान्ट तथा उपकरणहरूको आयात तथा उत्पादनमा गुणस्तर सुनिश्चित गरिने लगायतका कार्ययोजनासमेत सार्वजनिक गरिएको छ ।
पौडेलले पूर्वस्वास्थ्यमन्त्री, पूर्व स्वास्थ्य सचिव, स्वास्थ्यका विभिन्न सरोकारवाला निकाय र प्रतिनिधि,पत्रकार र विज्ञलगायतसँग सुझाव संकलन गरी कार्ययोजना तयार पारेका हुन् । उनले यो कार्ययोजना कार्यान्वयनकालागि सहयोगको अपिल समेत गरेका छन् ।
Share on Twitter