एयर डाइनेस्टी दुर्घटनामा परेकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने
काठमाडौं :नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चालकसहित पाँच जनाको शवको आज पोस्टमार्टम हुँदैछ । मृत्यु भएकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिए ।
डा.चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण र पोस्टमार्टम विवरण आज सङ्कलन गरिनेछ । भोलि मात्रै शव पहिचानको म्याचिङ हुने उनले बताए ।
डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू (खत, ट्याटु आदि), पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख चौधरीको भनाई छ ।
बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला), जेमिङ सी (पुरुष) र क्याप्टेन अरुण मल्लको मृत्यु भएको थियो ।
Share on Twitter