इमर्जेन्सीमा आएका बिरामी नफर्काउनू : स्वास्थ्य मन्त्रालय
काठमाडौं:स्वास्थ्य मन्त्रालयले आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीलाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए मात्र अन्य संस्थामा पठाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले मंगलबार एक विज्ञप्ति जारी गरी इमर्जेन्सीमा आउने बिरामीलाई उपचार दिएर स्वास्थ्य अवस्था स्थिर बनाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए सेवा पाउने ठाउँमा पठाउन आग्रह गरेका छन्।
यसरी अर्को अस्पतालमा पठाउँदा सो अस्पतालसँग समन्वय गरेर बिरामीलाई चाहिने सेवा उपलब्ध हुने अवस्थामा मात्र पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
साथै मन्त्रालयले नेपालको संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने भनेको र जनस्वास्थ्य ऐन २०७५ ले आपतकालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने तत्कालको सेवा स्वरुप आकस्मिक सेवा दिन पनि स्मरण गराएको छ।