नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने
काठमाडौँ :चिकित्सा शिक्षा आयोगले नर्सिङ पढ्न कक्षा १२ पास गर्नुपर्ने निर्णय गरेको छ । अहिले कक्षा १० पास गरेपछि नर्सिङ पढ्न पाउने व्यवस्था छ । आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको जानकारी दिए ।
संसद्को शिक्षा समितिको बैठकमा बोल्दै उपाध्यक्ष झाले विश्वका अन्य देशमा कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने मापदण्ड रहेको बताए। तर, नेपालमा भने कक्षा १० पढेपछि नै पीसीएल नर्सिङ पढ्न पाउने गरेको बताए। आयोगले त्यससम्बन्धी निर्णय गरेको र चाडै सीटीइभीटीलाई पत्राचार गरिने बताए।