स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यमान ऐनमा नै परिवर्तन गर्नुपर्छ : मन्त्री पौडेल
काठमाडौं:स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बमा धेरै व्यवस्थित हुन नसक्ने बताए।मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बीमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए ।
स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो । उनले भने,‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन। त्यसैले बीमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ। खासगरी यसको दायरा फराकिलो बनाउने, संगठित क्षेत्र सबैलाई बीमासँग आवद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरु थप पक्षलाई कसरी जोड्न सकिन्छ ? त्यसको निम्ति गृहकार्य भइरहेको छ। बीमा समिति, मन्त्रालयले यसका बारेमा छलफल गरिरहेको र आवश्यकता अनुसार यसको बारेमा के गर्न सकिन्छ ? आम नागरिकलाई बीमाबाट उपचार गराउनका लागि सहजीकरण कसरी गर्न सकिन्छ ? त्यसको प्रक्रियालाई कसरी सहजीकरण गर्न सकिन्छ ? र सम्पूर्ण नागरिकले यसबाट कसरी लाभ लिन सक्छन् ? भन्ने बारेमा अध्ययन गर्न निम्ति समिति बनाउने सन्दर्भमा पनि हाम्रो छलफल भइरहेको छ।’
पौडेलले विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा सुर्तिजन्य पदार्थको हानीबारे उल्लेख हुनुपर्ने बताए। उनले भने, 'नयाँ पुस्तामा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने प्रवृत्ति बढेको छ। विद्यालय र विश्वविद्याल तहका पाठ्यपुस्तकमा यसको हानी उल्लेख गर्न जरुरी छ।'