त्रिवि राजनीतिक शास्त्रका विद्यार्थीलाई स्वागत र बिदाइ

काठमाडौं:त्रिभुवन विश्वविद्यालय राजनीतिक शास्त्र केन्द्रीय विभागमा नव आगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमकाबिच स्वागत गरिएको छ । स्नातकोत्तर पहिलो सत्रका विद्यार्थीहरूलाई तेस्रो सत्रका विद्यार्थीहरूले विश्वविद्यालयमा स्वागत गरेका हुन् । यस्तै सोही कार्यक्रममा चौथो सत्रका विद्यार्थीहरूलाई बिदाइ समेत गरिएको छ ।
स्वागत कार्यक्रममा विश्वविद्यालयका प्रिन्सिपल घनेन्द्र बहादुर राईले विश्वविद्यालयको सुधारमा सबै लाग्नुपर्ने बताए । उनले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै बिदाइ भएका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिए ।
यस्तै कार्यक्रममा विद्यार्थी कल्पना बास्तोलाले गर्विलो इतिहास बोकेको विश्वविद्यालयको जनशक्ति सबै क्षेत्रमा रहेको बताइन् । विश्वविद्यालयबाट उत्तीर्ण विद्यार्थीहरू अहिले देशको सबै तहमा रहेको उनको भनाइ छ । उनले विश्वका अन्य विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने आजको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा राजन साउदले बिदाइ हुने विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए । कार्यक्रमका सभापति दिनेश सिवाकोटीले विश्वविद्यालयबाट हुने खोज तथा अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा प्रज्वल भण्डारीले गजल प्रस्तुत गरेका थिए । कार्यक्रम दीपक सिंह ठकुरी र सफलता बोगटीले सञ्चालन गरेका थिए ।