काठमाडौँमा डेङ्गी नियन्त्रण अभियान
काठमाडौँ :काठमाडौँ महानगरपालिकाले डेंगी नियन्त्रणकालागि सचेतना अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्ने भएकाले पानि जम्न नदिन सचेतना बढाउने बताइएको छ । सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका हुन् । यस्तलार्भा खोज्ने र नष्ट गर्ने प्राथमिकतामा राखिएको कार्यक्रमका फोकल पर्सन ऋषि भुषालले जानकारी दिए ।
लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको छ । यो जैविक औषधि हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको भुषालले बताए ।
एक्कासी उच्च ज्वरो आउनु डेङ्गीको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिँगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सरीरमा विमिरा आउने हुन सक्छ । हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने पनि हुन सक्छ । लगातार वान्ता हुनु, वान्तामा रगत देखा पर्नु, धेरै पेट दुख्नु, सास फेर्न गाह्रो हुनु, गिजाबाट रगत बग्नु, बेहोस हुनु डेङ्गीको जटिल अवस्थाका लक्षण हुन् ।
Share on Twitter