औषधि व्यवसाय बदनाम बन्नु हुँदैन :मुख्यमन्त्री पाण्डे

लेखनाथ:गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि व्यवसायीहरु जिम्मेवार र संवेदनशील हुनुपर्ने बताएका छन्। नेपाल औषधि व्यवसायी सङ्घ, गण्डकी प्रदेशको दोस्रो अधिवेशन एवं तेस्रो साधारणसभालाई पोखरामा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले मानव स्वास्थ्यसँग जोडिएकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताएका हुन् ।
’नेपालका दुर्गम क्षेत्रमा अझै पनि नागरिकको प्राथमिक उपचार तथा औषधि व्यवसायीद्वारा नै हुने गरेकाले यस क्षेत्रका व्यवसायी थप जिम्मेवार हुन जरुरी छ”, उनले भने, “एक दुई व्यवसायीको गल्तीका कारण सिङ्गो औषधि व्यवसाय बदनाम बन्नु हुँदैन।”गण्डकी प्रदेश सरकार अस्थिर भएकाले स्वास्थ्यसम्बन्धी नीति बनाउन ढिलाइ भएको बताउँदै मुख्यमन्त्री पाण्डेले अब चाँडै सोसम्बन्धी व्यवस्था गरिने बताए।
नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आम उपभोक्तामा गुणस्तरीय औषधिको पहुँच पु¥याउन आवश्यक भएको बताउँदै कानुनविपरीत व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने तयारीमा विभाग रहेको बताए। नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालले अन्य वस्तुको तुलनामा औषधि व्यवसाय पृथक र संवेदनशील भएकाले आत्मअनुशासनमा रहेर कारोबार गर्न व्यवसायीलाई आग्रह गरे।