लागु औषधका प्रयोगकर्ता बर्षेनी बढ्दै

काठमाडौं:नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ । त्यसो त २०७६ पछि कुनै सरकारी प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
गृह मन्त्रालयले विं सं २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए। कुल लागूऔषध प्रयोगकर्ता मध्ये ७ प्रतिशत महिला प्रयोगकर्ताहरू पाइएको थियो। उक्त सर्वेक्षणमा नेपालमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको देखाएको छ ।
केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृहमन्त्रालयले गरेको अध्ययन अनुसार वि.स.२०६९मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेकोमा २०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर १ लाख ३० हजार ४ सय २४ पुगेको देखिएको छ । ६९ प्रतिशत अर्थात ९० हजार भन्दा बढी प्रयोगकर्ताहरूले सुईद्वारा लागूऔषध प्रयोग गर्ने गरेको उक्त प्रतिवेदनले सार्जजनिक गरेको थियो।
कुल प्रयोगगकर्ता मध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् । यसैगरी नोकरी गर्ने, ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागूऔषध प्रयोगकर्ता रहेका छन् ।
२०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन्। साथीहरुको संगतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ । डुलन्ते विक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषधि लिइरहेका छन्।
सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ । झाडीमा १२ दशमलव ८, होटल तथा रेष्टुरेण्टमा २ प्रतिशत, पाटी पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागु औषध सेवन गर्नेहरु रहेका छन् ।
साथीसँगीको दबाबका कारण लागू औषध प्रयोग गर्नेको संख्या बढी रहेको छ । ८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा यसको प्रयोग गर्छन् । ७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन् ।यस्तै पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ ।
लागु औषध सम्बन्धि काम गरिरहेको संस्था रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक विकास गुरुङले लागूपदार्थ प्रयोकर्तालाई अपराधिकरण गर्न नहुनेमा जोड दिएका छन् । बुधबार काठमाडौंमा पत्रकारहरुसंगको छलफलमा उनले लागूपदार्थ प्रयोगकर्तालाई मनोसामाजिक परामर्श र औषधि उपचार गर्नुपर्नेमा जोड दिए । उनले यसलाई फौजदारी अपराध अन्तर्गत राख्न नहुने बताए ।
लागूऔषध (नियन्त्रण) ऐन, २०३३ ले लागूऔषध प्रयोगलाई पनि स्वास्थ्य समस्याको रुपमा मान्यता दिएको अवस्थामा फौजदारी मुद्दा दण्ड दिनु समस्याको समाधान नहुने उनको तर्क छ । नेपालका जेलहरुमा हरेक ५ जना मध्य १ जना लागूऔषधको मुद्धा खेपिरहेको उनले बताए । गृह मन्त्रालयले गरेको सर्वेक्षणको प्रतिवेदन अनुसार कुल लागूऔषध प्रयोगकर्ताहरू मध्ये ९७ प्रतिशतलाई कम्तीमा एक पटक प्रहरीले पक्राउ गरेको र पक्राउ परेकाहरू मध्ये ३२ प्रतिशतलाई फौजदारी मुद्धा लगाइएको छ ।