भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने तयारी
![भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने तयारी भरतपुर अस्पतालमा एमआरआई सेवा सञ्चालन गर्ने तयारी](https://matribhumisandesh.com/public/uploads/shares/bharatpur-hospital.jpg)
चितवन : जिल्लाको भरतपुर अस्पतालमा तीन हप्ताभित्र एमआरआई सेवा सञ्चालन गर्ने तयारी भएकाे छ । रु ३० करोड लागतमा एमआरआई मेसिन आएसँगै सेवा सञ्चालन गर्ने तयारीमा अस्पताल जुटेकाे हाे । जर्मनीमा बनेको सिमेन्स कम्पनीको उक्त मेसिन अस्पताल ल्याइएको अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेलले बताए ।
‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उनले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताए । डा पौडेलले भने “अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।” एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उनकाे भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले तीन साताभित्र सञ्चालनको तयारी भइरहेको छ ।
झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उनले जानकारी दिए । “भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो”, डा तिवारीले भने ”, “अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन् ।” निजीको तुलनामा सस्तोमा एमआरआई हुने उनले बताए यो । अहिले अस्पतालमा दैनिक दुई हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।