सरकारी अस्पतालका समस्या अध्ययन गर्न तीन सदस्यीय समिति गठन
काठमाडौं:सरकारी अस्पतालहरुमा बिरामीले समयमै उपचारको लागि पालो नपाएको, शल्यक्रियाको लागि लामो समयसम्म पालो बस्नुपर्ने जस्ता गुनासोलाई सम्बोधन गर्न समिति गठन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले तीन सदस्यीय समिति गठन गरेका हुन्।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दिपेन्द्र रमण सिंहको संयोजकत्वमा गठित उक्त अध्ययन समितिमा डा मदन कुमार उपाध्याय सदस्य रहेका छन् भने वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्य सचिव रहेका छन्।
मन्त्रालयबाट आफू मातहत रहेका संघीय अस्पतालहरुबाट प्रदान हुने शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरु चुस्त(दुरुस्त राख्न तत्काल पहल गर्न आवश्यक देखिएको महशुश गरेर समिति गठन गरिएको हो । समितिले अध्ययन प्रतिवेदन २ हप्ता भित्र पेश गर्नुपर्नेछ।