वात्सल्य नेचुरल आईभीएफलाई मन्त्रालयको पत्र :गैरकानुनी शाखा क्लिनिकहरु बन्द गर

काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वात्सल्य नेचुरल आईभीएफले गैरकानुनी रुपमा सञ्चालनमा ल्याएका शाखा क्लिनिकहरु बन्द गर्न निर्देशन दिएको छ । पत्र काटेर निसन्तान दम्पत्तीको उपचार गर्ने भन्दै गैरकानुनी रुपमा सञ्चालनमा रहेको आईभीएफ क्लिनिकहरु बन्द गर्न निर्देशन दिउको हो ।
मन्त्रालयले जेठ ८ गते पत्र पठाउँदै कानुन अनुसार प्रक्रिया पूरा गर्न नभए कारबाही गर्ने भनेको छ। मन्त्रालयले एक स्थानका लागि इजाजतपत्र लिएर अन्य स्थानमा शाखा विस्तार गरेको भन्दै सञ्चारमाध्यममा समाचारहरु आइरहेको विषयमा ध्यानाकर्षण गराउँदै पत्र काटेको हो।
’एक स्थानका लागि सञ्चालन इजाजतपत्र प्राप्त गरेका आईभीएफ सेन्टरहरुले अन्य स्थानमा शाखा स्थापना गरी सेवा सञ्चालन गरेको भनी समाचारहरु आइरहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै स्वास्थ्य संस्थाले थप सेवा विस्तार गर्न वा शाखा स्थापना गर्न चाहेमा मापदण्ड बमोजिम प्रक्रिया पुर्या्ई अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७७ मा रहेकाले सोही बमोजिम गर्नु गराउनु हुन अन्यथा कानुन बमोजिम कारबाही हुने व्यहोरा यस मन्त्रालयको निर्णयअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ । वात्सल्यले काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ ।