‘साधारणीकरण सञ्चार–ढाँचा’को प्रयोग गर्दा स्वास्थ्य सञ्चारको अभ्यासमा प्रभावकारिता
काठमाडौं:काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सङ्गोष्ठी भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो ।
‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा समानान्तर तीनवटा कार्यक्रमबीच ३६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । डि–वेस्टर्नाइजेसन, एसियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्र्याक्सिस गरी ६ विधामा कार्यपत्र प्रस्तुत भएको थियो ।
काठमाडौं विश्वविद्यालय (केयू) को स्कूल अफ आर्ट्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा ‘हेल्थ कम्युनिकेशन प्राक्टिसेज’ विषयमा विद्यावारिधि गरिरहेका उपेन्द्र खड्काले पनि ‘साधारणीकरण सञ्चार–ढाँचा र स्वास्थ्य सञ्चार अभ्यासबीचको सम्बन्ध (रिलेशनसिप विटवीन साधरणीकरण मोडल अफ कम्युनिकेशन एण्ड हेल्थ कम्युनिकेशन प्राक्टिसेज)’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
उनले कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य सञ्चार अभ्यासहरूको सन्दर्भमा, ‘साधारणीकरण सञ्चार–ढाँचाको प्रयोग गर्न सकिने बताए। त्यसैगरी एमिटी विश्वविद्यालय मध्यप्रदश, भारतको ‘इन्स्टिच्युट, एमिटी स्कुल अफ कम्युनिकेशन’का प्रमुख डा. आदित्य शुक्लाले पनि साधारणीकरण सञ्चार–ढाँचको प्रयोगले स्वास्थ्य सञ्चार अभ्यासमा लाभदायी हुने बताए। त्यसैगरी काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसका प्रा.डा. अजय रिसालले साधारणीकरण सञ्चार–ढाँचाको प्रयोगले मानसिक स्वास्थ्य सञ्चारको अभ्यासमा समेत लाभ मिल्ने बताए।
खड्काले साधारणीकरण सञ्चार–ढाँचालाई अनुसरणगरी स्वास्थ्यका गतिविधि गरेको खण्डमा महत्वपूर्ण सूचना तथा जानकारीको प्रवाह गर्न, स्वास्थ्य साक्षरताको प्रवर्द्धन गर्न, स्वास्थ्य व्यवहार परिवर्तनलाई प्रभाव पार्न र स्वास्थ्यसेवासँग सम्बन्धित सार्वजनिक धारणाहरूलाई आकार दिन लाभ मिल्ने उनले बताए।
‘स्वास्थ्य सञ्चारको अभ्यासमा साधारणीकरण सञ्चार–ढाँचा प्रयोग गर्नु लाभदायक हुने देखिन्छ,’खड्काले भने। साधारणीकरण सञ्चार–ढाँचाले एक दार्शनिक ढाँचा (फ्रेमवर्क) प्रदान गर्ने र यसले प्रभावकारी स्वास्थ्य सञ्चार अभ्यासहरूको सिद्धान्तहरूसँग राम्रोसँग मेल खाने उनले बताए। ‘यो ढाँचाले सांस्कृतिक संवेदनशीलता, समानुभूति, विश्वास–निर्माण, र सामुदायिक संलग्नतामा जोड दिन्छ’,उनले भने। यस्तो ढाँचाको प्रयोगले व्यक्तिको व्यवहारको परिवर्तनमा सघाउ पुर्याउनले भएकाले गुणस्तरीय स्वास्थ्यमा मद्यत मिल्ने खड्काले बताए।
स्वास्थ्य सञ्चार अभ्यासमा साधारणीकरण सञ्चार–ढाँचले स्पष्टता, पहुँच, संलग्नता, सांस्कृतिक संवेदनशीलता, र व्यवहार परिवर्तनलाई सहज बनाउन मद्यत मिल्ने भएकाले स्वास्थ्य साक्षरतामा मद्यत मिल्ने विभिन्न वक्ताहरुले धारणा राखेका थिए।
स्वास्थ्यकर्मीले सञ्चारको साधारणीकरण सञ्चार–ढाँचा अपनाएको खण्डमा बिरामीको औषधि उपचारमा समेत सहजता हुने, बिरामीलाई सन्तुष्टि बढाउन र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न पनि सहज हुने कार्यपत्र प्रस्तुत गर्दै खड्काले बताए।
सङ्गोष्ठीमा अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक डा. योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी हुनुभयो । भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला र एमसीयूकै वर्तमान उपकुलपति प्रा.डा. के.जी. सुरेश वक्ताका रूपमा सहभागी हुनुभयो ।
चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कूल अफ पोलिटिक्स एण्ड पब्लिक एड्मिनिस्ट्रेसनका उपाध्यक्ष प्रा.डा. हान हङ र इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्रा. डा. इदा बागुस पुटु सुअम्बाले सञ्चार सिद्धान्तबारे धारणा राख्नुभयो । कार्यक्रममा भारतस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर मिडिया स्टडिजकी विभागीय अध्यक्ष डा. शुची यादव लगायतले पनि कार्यक्रममा सम्बोधन गरेका थिए ।
Share on Twitter