चिकित्सा शिक्षा आयोगको निर्देशक छनौट समितिविरुद्ध परेको रिट खारेज
काठमाडौँ : चिकित्सा शिक्षा आयोगको निर्देशक छनौटका लागि नाम सिफारिस गर्न गठित समितिलाई काम अघि नबढाउन माग गर्दै दायर रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ । उच्च अदालतका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र कृष्णराज कोइरालाको संयुक्त इजलासले आयोग तथा नाम सिफारिस गर्न गठित समितिलाई विपक्षी बनाई दायर रिट खारेज गरिदिएको हो । यो संगै समितिलाई आफ्नो काम अघि बढाउन बाटो खुलेको छ ।
आयोगमा रिक्त चार वटा निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले गत ५ मंसिरमा एक साताको अवधी तोकेर सूचना प्रकाशित गर्दा २० जनाले आवेदन दिएका थिए । तर गत १७ मंसिरमा समितिले १२ जनालाई मात्रै अल्पसूचीमा राख्दै सूची प्रकाशित गरेको थियो ।त्यसमा असहमति जनाएका एक जना आवेदकले समितिबाट थप काम अघि नबढोस भन्दै रिट दायर गरेका थिए ।
सो रिटमा गत २१ मंसिुरमा प्रारिम्भक सुनुवाई गर्दै काम अघि नबढाउन आयोग तथा समितिका नाममा अन्तरिम आदेश दिएको थियो । आयोगमा गत ४ मंसिर देखि मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशक पद खाली रहेको छ ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ३० असोजमा डा. रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए । समितिको सदस्यहरुमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा रहेका छन् ।
Share on Twitter