पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु
काठमाडौं:पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु भएको छ । यो अभियानअन्तर्गत यस बर्ष १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने बताइएको छ । सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।
यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले बताए। विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आईपीभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।
नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए। अभियानका लागि ३४ हजरा ३५४ खोप केन्द्र तय भएको छ ।
यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन भएका छन् । त्यसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण जोखिम कायमै रहेको विज्ञहरुको भनाइ छ ।
Share on Twitter