मन्त्री फेरिएसँगै स्वास्थ्यमा कर्मचारी फेरबदल
काठमाडौं:नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवपनि कर्मचारी सरुवामा अगाडी देखिएका छन् । कार्यकाल सम्हालेको केही दिनमै उनले कर्मचारी हेरफेर सुरु गरेका छन् । मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्।
ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए । यस्तै इपिडिमियोलोजी महाशाखामा भने हाललाई कोही पनि नपठाइएको प्रशासन स्रोतले जानकारी दियो । यता राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ।
केन्द्रमा हाललाई कसैलाई पनि जिम्मेवारी दिइएको छैन। यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ। अस्पतालमा निर्देशक रहेका डा युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको छ। उनलाई निर्देशकको जिम्मेवारी भने दिइएको छैन।
यस्तै, राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ । यसैगरी, मन्त्रालयका उपसचिव चिरञ्जिवी घिमिरेलाई आयुर्वेद विभागमा पठाइएको छ। आयुर्वेद विभागमा रहेका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ ।
Share on Twitter