चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालियो
चितवन: चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो ।
मुटुरोग विशेष प्राडा श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पुर्याएर प्वाल टालेको हो । अहिले ती महिलाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ । उपचार टोलीमा प्राडा विष्णुमणि धिताल, प्राडा अनिल आचार्य, प्रा डा भारतीदेवी शर्मा, क्याथल्याब इन्चार्ज अमृत काफ्लेलगायत नर्सहरूको समेत सहभारिता रहेको थियो ।
प्राडा रेग्मीले यस्ता धेरैजसो प्वाल छाती चिरेर ‘बाइपास सर्जरी’जस्तो ‘ओपनहर्ट सर्जरी’ गरेर टाल्ने गरिएकामा नयाँ प्रविधिको विकाससँगै शल्यक्रिया नगरीकन (डिभाइस क्लोजरमार्फत) तारको माध्यमबाट टाल्न सम्भव भएको बताए ।
बिरामीको मुटुको दाहिने कोठा सुनिएको, भारी काम गर्दा श्वास फेर्न गाह्रो हुनेलगायत लक्ष्यण लिएर अस्पताल आएकी ति महिलाको सोही प्रविधि प्रयोग गरी चितवन मेडिकल कलेजमा पहिलोपटक उपचार गरिएको जानकारी दिए । चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले चितवनमा नै शल्यक्रियाबिना मुटुको प्वाल टाल्ने काम सम्भव भएकाले अब यस्ता समस्या लिएर राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको बताए ।
Share on Twitter