साढे १४ लाख बढी बालबालिकालाई आईपीभी खोप
काठमाडौं:सरकारले यस वर्ष १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकालाई पोलियो रोग विरुद्धको आईपीभी (इनएक्टिभिटेड पोलियो भ्याक्सिन) खोप दिने भएको छ ।
यही जेठ १३ गतेदेखि २६ गतेसम्म देशभर खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा, विवेककुमार लालले जानकारी दिए । विसं २०७३ बैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका १४ लाख ६२ हजार ७ सय १२ जना बालबालिकाहरुलाई आईपीभी खोप दिने तयारी गरेको उनले बताए । उक्त समयमा आईपीभी खोप विश्वबजारमा अभाव भएकाले खोप लगाउन छुटेका थिए ।
खोपबाट बन्चित भएका बालबालिकाहरु पोलियो रोगको जोखिममा हुनसक्ने भएकाले उनीहरुलाई आईपीभी खोपको एक मात्रा दिन लागिएको विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । खोप अभियानलाई विद्यालय केन्द्रित गरिएको उनले बताए । सो उमेरका बालबालिका विद्यालयमा जानेभएकाले विद्यालयलाई नै खोप केन्द्र बनाइएको उनले सुनाए । यस्तै विद्यालय बाहिर रहेका बालबालिकाकालागि स्वास्थ्य केन्द्रमा खोपको व्यवस्था गरिने उनको भनाइ छ । खोप अभियानका लागि ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाईजेशन (गाभी)को सहयोग रहेको परिवार कल्याण महाशाखाका निर्देशक डा लालले बताए ।
अभियानका लागि ३४ हजरा ३५४ खोप केन्द्र तयार गरिएको छ । यस्तै अभियानमा ३४ हजार ३०६ जना स्वास्थ्यकर्मी र ६० हजार १३ जना स्वयंसेवक परिचालन गरिने महाशाखाले जनाएको छ । त्यसो त नेपालले सन् २०१४ मै पोलियोमुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाइसकेको छ । तर दक्षिण एशियाली मुलुकहरु पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियो केश देखिएका कारण जोखिम कायमै रहेको विज्ञहरुको भनाइ छ ।
Share on Twitter