जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
सिमकोट : हुम्लाको जिल्ला अस्पतालमा औषधि अभाव भएकाे छ । औषधि अभाव हुँदा बिरामी मर्कामा परेका छन् । पन्ध्र शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधि अभाव हुँदा चिकित्सकले लेखेका औषधि निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ ।
मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, झापापखालालगायत रोगका औषधि वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निःशुल्क औषधिसमेत नभएको खार्पुनाथ गाउँपालिका–३ रायाका धनबहादुर टमटाले बताए । निजी मेडिकलबाट औषधि किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उनको भनाइ छ ।
वैशाख यतादेखि अस्पतालमा बिरामीको चाप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताउनुभयो । उहाँको अनुसार आइतबार र सोमबार मात्रै ८०/८० जनाले सेवा लिएका छन् । अन्य दिनमा ५० जना भन्दा कम नहुने डा सिंहले जानकारी दिए ।
लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनकाे भनाइ छ । गाउँघरबाट एक/दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उनले बताए ।
अस्पतालमा औषधिको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गरे । हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधि नेपालगञ्जमा थन्किएकाले समस्या भएको उनले बताए । अबको एक/दुर्ई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगञ्ज थन्किएका औषधि ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताए ।
Share on Twitter