पोखरा विश्वविद्यालयले सुरु गर्यो शिक्षण अस्पताल
काठमाडौं:पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । २२ भदौ २०८० मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका छन् ।
पोखरा महानगरपालिका–३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो ।२ वर्षपछि ३ सय शय्याको पु¥याउने लक्ष्य विश्वविद्यालयले राखेको छ । अस्पतालमा २४ सै घन्टाको सेवा छ । विशेषज्ञसहित १२ चिकित्सक र कर्मचारीहरुको व्यवस्था अस्पतालमा छ । बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ ।
अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ । अस्पतालले आगामी दिनमा शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा. दीपेन्द्रकुमार यादवले जानकारी दिए ।१०० बेडसम्मको शिक्षण अस्पतालको अनुमति गण्डकी प्रदेश सरकारले दिएको मुख्यमन्त्री खगराज अधिकारीले बताए ।
मुख्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य बिमालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पतालले सेवा दिनुपर्ने कार्यविधि बनाउन आग्रह गरे । पोखरा विश्वविद्यालयमा शिक्षण अस्पताल ल्याउन सबैको पहल र प्रयत्नबाट मात्र सम्भव भएको उनको भनाइ थियो । स्वास्थ्य बिमा परिचयपत्रबाट उपचार गर्न जाने बिरामीले अपमान भएर दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने चलनको अन्त्यको खाँचो अधिकारीले औंल्याए ।
Share on Twitter