स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु संयुक्त पाठ्यक्रम तयारीमा
काठमाडौं : सरकारका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन्। ६ वटा प्रतिष्ठानले तीन दिनसम्म विज्ञहरुसँग बसेर छलफल गर्दै पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा तयार पारेका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाठ्यक्रम तयार पार्ने काम भइरहेको हो। पहिलो चरणमा धुलिखेलमा भएको तीन दिने छलफलमा पाठ्यक्रमको फ्रेमवर्क तयार भएको हो।
अब त्यही फ्रेमवर्कमा टेकेर सबै प्रतिष्ठानका प्रतिनिधिहरु सम्मिलित एउटा कार्यदल बनाएर पाठ्यक्रम निर्माणका लागि थप काम अगाडि बढ्ने न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
छलफलमा छ वटै प्रतिष्ठानका उपकुलपति, रेक्टार, डिन, रजिष्ट्रार लगायतका प्रतिनिधिहरु सहभागी भएका थिए। यसका साथै प्रतिष्ठानसँग जोडिएका अन्य प्रतिनिधिहरु र विज्ञहरुको पनि सहभागिता रहेको थियो। 'झण्डै एक सय जना जति विज्ञहरुसँग पाठ्यक्रमका विषयमा छलफल भएको छ,' उपकुलपति डा बस्नेतले भने।
डा बस्नेतका अनुसार सरकारका ६ वटै प्रतिष्ठानमा यसै वर्षदेखि पठनपाठन सुरु हुने हो भने ६ सय जनाले एमबीबीएस अध्ययन गर्न पाउने ढोका खुल्ने छ। जसमध्ये ४५० जनाले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने छन्।
Share on Twitter