डा गोविन्द केसीले अनसन तोडे
काठमाडौं:स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा गोविन्द केसीले २२ औँ अनसन तोडेका छन् । डा केसीले अनसन सुरु गरेको छ दिनमा अनसन तोडेका हुन् । स्वास्थ्य बिग्रिएर हिजो बेलुका त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा केसीले आज विज्ञप्ती जारी गर्दै अनसन स्थगित भएको जनाएका हुन् ।
यसअघि त्रिवि शिक्षण अस्पतालका चिकित्सकले डा केसीको स्वास्थ्य आइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्थामा पुगेको भन्दै अनसनलाई निरन्तरता दिन उचित नहुने सल्लाह दिएका थिए । अनसन तोडेपनि आन्दोलन जारी रहेको उनले बताएका छन्। उनी २९ वैशाखदेखि पशुपतिको मृगस्थलीमा अनसनरत थिए।
डा केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा सहित ४ बुँदे माग अघि सार्दै छ दिन अघि पशुपति मृगस्थलिमा अनसन सुरु गरेका थिए ।
’आज अनशनको छैटौं दिन मेरो स्वास्थ्य अवस्था कृटिकल हुँदै गएको डाक्टरहरूले औंल्याएका छन् । साथै वर्तमान शासकहरूको नियतलाई दृष्टिगत गर्दै अनशन तोडनु पर्ने हुन्छ,’ उनले भने, ’हत्या हिंसाको माध्यमबाट सत्तामा आएका दल र त्यस्तो पृष्ठभुमिमा रमेका रमाएकाहरूले शान्तिपूर्ण अहिंसात्मक सत्याग्रहको माग सुनुवाइ गर्छन् र शासकहरू संवेदनशील बन्छन् भन्ने कुरा सोच्नु मूर्खता हो। ’ सामान्य शासकीय शिष्टाचार समेत नभएका शासकहरू भएको देशमा जनताको समस्याप्रति गम्भीरता नदेखिनु सामान्य कुरा रहेको उनको बुझाइ छ। ’अनैतिक शासकहरूको अगाडि नागरिकको नैतिक याचना फगत याचनाको रूपमा रहेको देखिएको छ । तसर्थ हाम्रो आन्दोलन जारी रहने प्रतिबद्धता गर्दै हाललाई सत्याग्रह स्थगन गरेको जानकारी गराउँछु,’ उनले विज्ञििप्तमा भनेका छन्।
Share on Twitter