भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा
चितवन:चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । अहिले दुई सय युनिट रगत भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको सो केन्द्र अस्पतालको ‘बी ब्लक’ मा रहेको छ ।
रक्तसञ्चार केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । प्रमुख दाहालले भरतपुर अस्पताल आउने बिरामीलाई अब रगत पाउन सहज हुने विश्वास व्यक्त गरिन्। अस्पतालका अध्यक्ष राजु पौडेलले अस्पतालको न्यूनतम सेवा मापदण्ड भित्र ब्लड बैंक पर्ने उल्लेख गर्दै बिरामीको सहजताका लागि ब्लड बैंक सञ्चालन गरिएको बताए ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा श्रीराम तिवारीले अस्पतालमा धेरै समयको प्रयासपछि ब्लड बैंक सञ्चालनमा ल्याइएको बताए । नेपाल रेडक्रस सोसाइटी चितवनका अध्यक्ष हरि पौडेलले काठमाडौँ उपत्यकामा एक लाख युनिटभन्दा बढी र चितवनका अस्पतालहरूमा वार्षिक ६० हजार युनिट रगतको माग रहेको जानकारी दिए।
Share on Twitter