सरकारी अस्पतालमा जनशक्ति थप गर्ने स्वास्थ्य मन्त्री प्रदीप यादवको पहिलो निर्णय
काठमाडौं:स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा मन्त्रीको सपथ खाए लगत्तै उनी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो। उक्त पदमा अशोक राई नेतृत्वको जसपाका सांसद प्रदीप यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।
मन्त्री यादवले सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने विषयमा पहिलो निर्णय गरेका छन्। स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रीले हस्ताक्षर गरेको फाइल पढेर सुनाउने क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्दै अगाडि बढ्ने उल्लेख छ।
यसका साथै, मानसिक अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायणसिंह अस्पताल, नरदेवी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय औषधि प्रयोगशाला, पशुपति होमियोप्याथी चिकित्सालय र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नर्सिङ क्याम्पसको पनि संगठन तथा व्यवस्थापन सर्वे प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ। ’लामो समयदेखि यस मन्त्रालय अन्तर्गतका अस्पतालहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (0 & M Survey)नभएकोले हालको मौजुदा जनशक्तिबाट सरल, सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्न कठिनाई भएको अवस्था छ । दिन प्रतिदिन नयाँ किसिमका महामारी रोगहरू फैलिरहेको हुँदा सो को रोकथाम, नियन्त्रण तथा उपचारका लागि पर्याप्त जनशक्ति नरहेको कारण प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध हुन सकेको छैन ।
अस्पताल/निकायहरूबाट थप सेवा विस्तार भएता पनि पर्याप्त जनशक्तिको अभावमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको हुँदा बिरामीको चाप, कार्यक्षेत्र, कार्यबोझ र कार्यप्रकृति अनुसार हालको मौजुदा दरबन्दीमा पुनर्संरचना गर्न आवश्यक देखिएकोले तपसिलमा उल्लिखित अस्पताल/निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (0 & M Survey) को प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमतिको लागि निर्णयार्थ पेश गरेको छु,’ निर्णयमा भनिएको छ।
नव नियुक्त मन्त्री यादवले अस्पतालहरुमा बिरामीको चाप अत्यधिक रहेको र त्यस अनुसार जनशक्ति नहुँदा सेवा प्रभावकारी नभएको भन्ने विषय आइरहेकाले आफूले त्यसलाई प्राथमिकता दिने बताए। मन्त्री यादव पर्सा १ बाट निर्वाचित सांसद हुन्। यसैगरी, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान नियुक्त भएकी छिन्।
Share on Twitter