हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृहमन्त्रालयको ३ बुँदे निर्देशन
काठमाडौं:उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न ३ बुँदे निर्देशन जारी गरेका छन् । अभियोग लागेका पहुँचवाला व्यक्तिहरु छानविनका लागि प्रहरी नियन्त्रणमा आउनासाथ चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि गृहमन्त्रालयले चासो देखाएको हो ।
यस्तो प्रबृत्ति बढेपछि प्रहरीकै पनि चौतर्फी आलोचना भएको थियो । जनस्तरबाटै प्रश्न उठेपछि मन्त्रालयले तीन बुँदे निर्देशन जारी गरेको हो। अस्पताल भर्ना हुने शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरु जस्तैस् उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा अस्पताल लग्नुपर्ने, अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने,नपर्ने सम्बन्धमा निर्णय गर्न निर्देशन दिएका छन्।
अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ। प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलब्ध गराउने हालको कानुनी प्रबन्ध र अभ्यासलाई वस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो।
Share on Twitter