बिदा लिएर निजिमा धाउने कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको कडाई
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी कार्यालयमा बिदा लिएर निजी तथा गैर सरकारी संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिवको जिम्मेवारीमा आएका मधुसुदन बुर्लाकोटीले आज दोस्रोपटक सूचना निकाली यसबारेमा जानकारी गराएका छन् । सोमबार एक निर्देशक जारी गर्दै अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदा जस्ता बिदा लिई निजी संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्नेमाथि कारबाही गर्ने जानकारी दिएका छन्।
’सरकारी सेवामा बिदा लिइ निजी स्वास्थ्य संस्थाहरु तथा गैरसरकारी संस्थाहरूमा कार्य गर्ने र केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैर जिम्मेवारी पूर्ण कार्य गरेकोले प्रचलित कानून बमोजिम हदैसम्मको कारवाही गरी स्वीकृत गरेको बिदा रद्द गरिदिनको लागि विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएकोले यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्देशक पत्रमा भनिएको छ।
उनले स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र विदा अधिकारको कुरा होइन सहुलियत मात्रै हो भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उल्लेख गरेका छन् । जुन उद्देश्यको लागि बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्नुपर्ने भन्दै बिदाको उद्देश्यविपरित निजीमा काम गर्नेमाथि कारबाहीको चेतावनी दिएको हो ।

Share on Twitter