स्वास्थ्य सेवाको विकास उच्च प्राथमिकतामा छ :उपप्रधान एवं स्वास्थ्य मन्त्री यादव
काठमाडौं:उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपालमा स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताए ।
उनले संवैधानिक र कानुनी व्यवस्थासहित नेपालले गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन् । मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए ।
उनले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।” युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए । उनले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए ।
उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरे । उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा चुमनलाल दास, निजी सचिव भवनाथ खतिवडा सहितको टोली सहभागी छ ।
Share on Twitter