कुसुम कुमारी गुरुङ एक्लैले धानिरहेकी छन् ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र ’
कावासोती :कावासोती नगरपालिका ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र एक जना अहेबको भरमा सञ्चालन हुँदै आएको छ । एक जना स्टाफ नर्स, एक जना अहेब र एक जना कार्यालय सहायक गरी तीन जनाको दरबन्दी रहेको स्वास्थ्य सेवा केन्द्रमा अहेब कुसुम कुमारी गुरुङ एक्लैले धानिरहेकी छन् ।
गत साउनमा स्टाफ नर्सले राजीनामा दिएपछि अहिलेसम्म पूर्ति हुन सकेको छैन । यस्तै कार्यालय सहयोगीले पनि चैत्रबाट काम छाडेको गुरुङले बताइन् । एक्लै काम गर्न समस्या भएको गुरुङको भनाइ छ ।
उनी भन्छिन् ‘अब एक्लै छु घाउ चोट लिएर आउने बिरामीलाई ड्रेसिङ गर्न पनि समस्या छ । यता औषधि दिने कि उता बिरामीको कुरा सुन्ने धेरै नै अफ्ठेरो पर्दो रहिछ । कार्यालय सहयोगी हुँदा केही राहत थियो अहिले त एक्लै छु’ उनले अहिले काममा जनप्रतिनिधिको समेत सहारा लिने गरेको सुनाइन् ‘घाउ चोट लिएर आउने बिरामीको घाउ सफा गर्दा जन प्रतिनिधिहरूलाई नि बोलाएर सहयोग मागेकी छु ’ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दैनिक १२, १३ जना सेवा लिन पुग्ने गरेको उनले जानकारी दिइन् ।
कर्मचारी अभावमा भोग्नुपरेको दुखबारे वडाध्यक्ष सहित नगरपालिकाको स्वास्थ्य शाखामा समेत आफूले जानकारी गराएको उनी बत्ताउँछिन् । ‘कहिले काहीँ बिदा बस्न समेत समस्या भयो । बिदा बस्दा बन्दै गर्नुपर्ने अवस्था आउने डर भयो । अहिलेसम्म त अन्य वडामा रहेका स्वास्थ्यकर्मी जहाँ दुई जना हुनुहुन्छ उहाँहरूलाई बोलाउने गरेकी छु यदि उहाँहरू भ्याउनुभएन भने त म बिदा समेत बस्न पाउँदिन’ ।
यता कावासोती नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कृष्ण प्रसाद नागिलाले स्थायी कर्मचारी सरकारले नपठाउँदा धेरै ठाउँमा समस्या देखिएको बताए । यता नगरपालिकामा करार कर्मचारी भर्ना गर्न आफूहरूले विवरण पठाए पनि नगरपालिकाले विज्ञापन नखुलाएको जानकारी दिए । अहिले नगरपालिकाका अन्य ५ वटा वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्टाफ नर्स रिक्त रहेको उनले बताए ।
Share on Twitter