सात जिल्लामा आजदेखि हात्तिपाइले रोगविरुद्धको औषधि खुवाईंदै
काठमाडौं:सरकारले आज आइतबारदेखि सात वटा जिल्लाका ५० लाख ७८ हजारलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ ।
झापा, धनुषा, महोतरी, सर्लाही,रौतहट, रसुवा र कपिलवस्तुमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए । देशका १३ वटा जिल्ला हात्तिपाइले रोग मुक्त जिल्ला भएको, अरु ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको र चारवटामा औषधि सेवन कार्यक्रम सकेर सर्भे हुदै गरेको बताए ।
उनले बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुनः औषधि खुवाउन लागिएको बताए । यसवर्ष उक्त कार्यक्रमका लागि नेपाल सरकारले १२ करोड बजेट विनियोजन गरेकोमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको छ ।
हालसम्म ५३ जिल्लामा हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको डा. मरासिनी बताउछन् । हात्तिपाइले रोगमा विभिन्न तीन थरिका औषधि खुवाइन्छ । जसमा आइभरमेक्टीन,डाइ इथाइल्कारबामजिन तथा अबेन्डाजोल रहेका छन्।
हात्तिपाइले कस्तो रोग हो ?
हात्तिपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने एक प्रकारको सरुवा रोग हो । मसिनो धागो आकारको जुका जस्तै एक प्रकारको परिजिवीले यो रोग गराउँछ। यो रोग संक्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ।
मानिसको शरीरमा यो यो परजिबी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरु शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन । धेरै जस्तो संक्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ ।
त्यसैले हात्तिपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।
हात्तिपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?
महाशाखा निर्देशक डा. मरासिनीका अनुसार हात्तिपाइले रोगबाट बच्न आइभरमेक्टीन, डाइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल गरी तीन प्रकारका औषधि प्रयोग गरिन्छ । जुन पूर्ण रुपमा सुरक्षित छन् । यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन् ।
यी तीन थरिका औषधिहरुको प्रयोगले हात्तिपाइले रोग लागिसकेकाहरुको प्रभावकारी रुप उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । यसले आन्द्रा र रगतका जुकाहरु मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ ।
अध्ययन् अनुसन्धानबाट यी तिन थरिका औषधिहरु पूर्ण रुपमा सुरक्षित भएको देखिएको छ । यति मात्रै होइन विश्व स्वास्थ्य संगठनले पनि यी औषधिहरुलाई हात्तिपाइले रोगविरुद्ध प्रयोग गर्न मिल्ने भनेर सिफारिस गरेको छ ।
हात्तिपाइले रोगविरुद्धको औषधि कसकसले सेवन गर्ने ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ ।
तर, निम्न व्यक्तिहरुले यो औषधि सेवन गर्न हुँदैन ।
- दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु
- गर्भवती र सात दिन सम्मका सुत्केरी
- छारे रोगको समस्या भएका व्यक्तिहरु
- पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरु
- सिकिस्त बिरामीहरु
सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरु,अस्पताल भर्ना भएका बिरामीहरु र त्यस्ता बिरामीहरु जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् । जस्तैस् मिर्गौला रोगको डायलासिसका बिरामीहरु आदि ।
त्यसो त हात्तिपाइले रोगबिरुद्धको औषधिको सेवनबाट ७२ मध्ये १९ देशले रोग निवारणको प्रमाणपत्र पाइसकेको छ । १४ वटा देशमा संक्रमण रोकिई सकेको छ । संसारमा ७४ करोड र नेपालमा १.५ करोड मानिस जोखिम मुक्त रहेको छ ।
नेपालको सात जिल्लामा आजबाट सञ्चालन हुने अभियानमा यसपटक करीव ६ हजार स्वास्थ्यकर्मीहरु र ५ हजार ८०० सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन हुने बताइएको छ ।
Share on Twitter