स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन : छ बुँदे घोषणापत्र जारी
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलनले छ बुँदे घोषणापत्र जारी गरेको छ । तीन दिन सम्म काठमाडौंमा भएको सम्मेलनले ६ बुँदे घोषणापत्र जारी गरेको हो ।
परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले सम्मेलनले दिएको निस्कर्षको रुपमा छ बुँदे घोषणा पत्र प्रस्तुत गरेका थिए ।
यस्तो छ घोषणापत्र :
एक हजार भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालय, विभिन्न संस्था तथा सरकारका प्रतिनिधि वैज्ञानिकहरुको सहभागितामा दिगो विकासका लक्ष्य प्राप्तिको लागि स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन भन्ने नाराका साथ तथ्य तथ्यांकमा आधारित नीति, योजना र कार्यक्रम निर्माण गर्ने संस्कारको निरन्तर विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो शिखर सम्मेलन निम्न घोषणाहरु सहित सम्पन्न भयो।
१. स्वास्थ्य तथा जनसंख्या सम्बन्धी अनुसन्धान प्रणाली तथा यसको आचारसंहिताको कार्यान्वयनलाई थप बलियो र प्रभावकारी, मर्यादित तथा नागरिक प्रति जिम्मेवार र राष्ट्रिय प्राथमिकतामा आधारित रहेको सुनिश्चितता गर्न सबैमा आव्हान गर्दछौँ।
२. अनुसन्धानबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या सम्बन्धी तथ्यतथ्यांकहरु र तीनको स्वास्थ्य नीति, योजना र कार्यक्रममा प्रभावकारी प्रयोग हुनुपर्ने कुरामा हामी सहमत छौं र यसको निरन्तर पैरवी र कार्यान्वयनको लागि आव्हान गर्दछौँ।
३. स्वास्थ्यका वृहत निर्धारकलाई सम्बोधन गर्न, जनस्वास्थ्य, समाज विज्ञान, चिकित्सा तथा जीव विज्ञान, वातावरण विज्ञान र प्रविधि जस्ता विषय क्षेत्र समेटेर बहुपक्षीय र अन्तरनिका अनुसन्धानहरु गर्नुपर्ने विषयमा प्रतिवद्ध छौं र प्राथमिकतामा राख्न सरोकारवालाहरुलाई आव्हान गर्दछौँ।
४. गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिमा समान पहुँच पुर्याउन कसैलाई पनि आर्थिक भार नपर्ने किसिमको वित्तिय प्रणालीको विकास र कार्यान्वयन हुने अवस्था सिर्जना गर्न आवश्यक वातावरण तयार गर्न आव्हान गर्दछौँ।
५. जलवायु परिवर्तन र यसले स्वास्थ्य तथा वातावरणमा पार्ने प्रतिकूल असरलाई तत्काल सम्बोधन गर्न सम्बन्धित सबैलाई सक्रिय सहभागी बन्न अनुरोध गर्दछौँ।
६. अनुसन्धानका विभिन्न क्षेत्रहरु जस्तै जनस्वास्थ्य, चिकित्सा, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्राथमिकताका राख्न हामी सबै प्रतिवद्ध छौँ।
Share on Twitter