स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन बुधबारदेखि काठमाडौंमा
काठमाडौं:स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष आयोजना गर्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
यस वर्षको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन” भन्ने तय भएको छ । चैत २८, २९ र ३० गते सम्म हुने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्धाटन गर्ने परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले जानकारी दिए ।सम्मेलनमा देश तथा विदेशबाट एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, सयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता सहभागि हुने छन्। सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने डा जोशीले बताए । सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए।
तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिएको हो। नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्य लगायतका १५ वटा भन्दा बढी विषयमा सामूहिक छलफल हुनेछ ।
परिषद्ले २०७१ सालदेखि हरेक वर्ष शिखर सम्मेलन गर्दै आएको छ।सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवर्द्धधन गर्ने तथा योजना र विकासमा टेवा पु¥याउने लक्ष्य लिएको डा जोशीले बताए। परिषद्ले गर्दै आएको सम्मेलनबाट आएका वैज्ञानिक अनुसन्धानबाट निस्किएका कुरालाई स्वास्थ्य मन्त्रालयले बनाउने स्वास्थ्यका नीति कार्यक्रम तथा योजनामा लागु गरीएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेधनाथ धिमालले बताए ।
विभिन्न १० विधामा अवार्ड
यसैबीच सम्मेलन समापन समारोहमा विभिन्न १० विधामा अवार्डहरू प्रदान गरिने छ । डा. जोशीका अनुसार सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरण र पोस्टर प्रस्तुतीकरणहरुमध्ये बाट एक–एक जनालाई उत्कृष्ट मौखिक प्रस्तुतीकरण र उत्कृष्ट पोस्टर प्रस्तुतीकरण अवार्ड प्रदान गरिनेछ ।
यसै गरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवर्डा २०२३ प्रदान गरिनेछ ।
साथै उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक), मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) र स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगि सकेको एक जना वैज्ञानिक स्वास्थ्य अनुसन्धानकर्तालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।
यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट ओरेशन अवार्ड–२०२४ समेत प्रदान गरिने छ । साथै परिषद्मा वर्षभरि उत्कृष्ट काम गर्ने एक जना स्थायी कर्मचारीलाई एनएचआरी बेष्ट इप्लोई अवार्ड पनि प्रदान गरिने बताइएको छ ।
Share on Twitter