चश्मा लगाउनु पर्ने अवस्था कसरी र किन हुन्छ ?
आँखाले कसरी देख्छ ?
एकदमै अध्यारोमा हामी कुनै वस्तुलाई पनि देख्न सक्दैनौ किनकी कुनै चीज वा वस्तु देख्नका लागि प्रकाश चाहिन्छ । कुनै पनि वस्तुबाट परावर्तन भई आएका प्रकाशका किरणहरु हाम्रा आँखाका पारदर्शक भागका माध्यममले संकलित रुपमा केन्द्रीकृत (फोकस) भई हाम्रो आँखाको दृष्टि पर्दामा पुगी सो वस्तुको आकृति बन्दछ । दृष्टि पर्दामा भएका स्नायुहरुले यसरी आएका प्रकाशका किरणबाट बनेको आकृतिलाई दिमागसम्म पुयाउने काम गर्दछन् र दिमागले त्यसलाई बुझेपछि हामीले उक्त वस्तुहरु देख्दछौं ।

चश्मा लगाउनु पर्ने अवस्था कसरी र किन हुन्छ ?
सामान्य अवस्थामा यसरी वस्तुबाट परावर्तन भई आएका किराहरु दृष्टि पर्दामा केन्द्रीकृत हुँदा प्रष्ट आकृति बनाउने गर्दछन् तर यसरी आएका किरणहरु दृष्टिपर्दामा केन्द्रीकृत नभई दृष्टि पर्दाको अगाडि वा पछाडी केन्द्रीकृत भई धमिलो आकृति बनेमा आँखाले सो वस्तुलाई धमिलो देख्ने वा नचिनिने हुन्छ । यस्तो अवस्थालाई चश्मा लगाउनु पर्ने| अवसथा (Refractive Error अर्थात दृष्टि दोष) भनिन्छ । यसरी प्रकाशका किरणहरु दृष्टि पर्दामा केन्द्रीकृत नहुनुका मुख्यतया दुई कारण हुन्छन् :
क) आँखाको आकार सामान्य भन्दा ठूलो वा सानो हुनु ।
ख) प्रकाशका किरणहरुलाई केन्द्रीकृत गर्न सक्ने आँखाको क्षमता बढी वा कम हुनु ।
अदूर दृष्टि
(Myopia or Short Sightedness)
आँखाको गेडीको बनावट सामान्य भन्दा ठूलो भएमा वा प्रकाशका किरणहरुलाई केन्द्रीकृत गर्ने आँखाका पारदर्शक भागको क्षमता सामान्य भन्दा बढी भई प्रकाशका किरणहरु दृष्टि पर्दा भन्दा अगावै केन्द्रीकृत हुने अवस्थालाई अदूर दृष्टि
भनिन्छ । यो अवस्थामा टाढाका वस्तुहरु प्रष्ट नदेखिने तर नजिकका वस्तुहरु भने प्रष्ट देखिने हुन्छ ।
आँखाको आकार सामान्य भन्दा ठूलो भएमा वा प्रकाशका किरणहरुलाई केन्द्रीकृत गर्ने आँखाको क्षमता सामान्य भन्दा
बढी भएमा अदूर दृष्टि हुने गर्दछ ।
दूर दृष्टि
(Hypermetropia or Far Sightedness)
आँखाको बनावट सामान्य भन्दा सानो भएमा वा प्रकाशका किरणहरुलाई केन्द्रीकृत गर्ने क्षमतामा कमि भई प्रकाशका किरणहरु दृष्टि पर्दा केन्द्रीकृत नभई सो भन्दा पछाडी केन्द्रीकृत हुने भई धमिलो आकृति बनि प्रष्ट नदेखिने हुन्छ । यसमा नजिकबाट आएका प्रकाशका किरणहरु टाढाबाट आएको भन्दा पछाडी केन्द्रीकृत हुने हुनाले अझ धमिलो देखिने हुन्छ । त्यसकारण यसमा टाढाका वस्तुहरु ठिकै देखिएता पनि नजिकका वस्तुहरु प्रष्ट नदेखिने हुन्छ ।
चश्मा लाउनुपर्ने कारणबाट दृष्टिदोष भएको । कसरी थाहा पाउने ?
माथि उल्लेखित कुनै पनि अवस्थामा दृष्टि क्षमतामा ह्रास आउने हुनाले दृष्टि क्षमतामा कमी भएको अवस्थामा करिब १ मिलिमिटर ब्याज भएको सुक्ष्म प्वाल (Pin Hole) बाट हेर्दा दृष्टि क्षमतामा सुधार भएमा चश्मा लगाउनु पर्ने कारणले दृष्टि दोष भएको थाहा हुन्छ । यदि कुनै टाढाका चिजहरु प्रष्ट नदेखिने तर आँखा खुम्च्याएर हेर्दा अलि प्रष्ट देखिने, नजिकको सानो वस्तु वा मसिनो अक्षर नदेखिने वा लामो समयसम्म पढ्दा वा नजिकको मसिनो काम गर्दा आँखा थाकेको जस्तो अनुभव हुने वा टाउँको दुख्ने चश्मा लाउनु पर्ने कारणले यस्तो भएको हुन सक्दछ ।
उपचार
यस अवस्थाको उपचार भनेको चश्मा लगाउनु नै हो । अदूर दृष्टि (Myopia) भएको अवस्थामा प्रकाशलाई केन्द्रीकृत
गर्ने आँखाको क्षमतालाई न्यून गर्न Concave Glass अर्थात माइनस पावरको चश्मा लगाउनु पर्ने हुन्छ भने दूर
दृष्टि (Hypermetopia) भएको अवस्थामा भने केन्द्रित गर्ने क्षमतालाई अझ सुदृढ बनाउन थप Convex अर्थात
प्लस पावरको चश्मा लगाउनु पर्ने हुन्छ ।
चश्मा लगाउनु पर्ने व्यक्तिले चश्मा प्रयोग नगरेमा के हुन्छ ?
अदूर दृष्टि (Myopia) भएको विद्यार्थीले कक्षा कोठामा सेतो वा कालो पाटीमा लेखेको कुरा देख्न नसक्ने हुँदा पठन
पाठनमा कमजोर वा पछाडि पर्ने हुन्छन् । यसै गरी अन्य व्यक्तिहरुले टाढाको वस्तु देख्न नसक्ने भई उनीहरुको दैनिक
कामकाजमा बाधा पुग्न जान्छ । दूर दृष्टि (Hypermetropia) भएको अवस्थामा नजिक हेर्न गाह्रो हुने हुँदा चश्मा नलगाइकन धेरै बेरसम्म पढ्ने तथा नजिकको काम गर्ने गरेमा आँखालाई बढी परिश्रम पर्ने हुन्छ । यस्तो भएमा आँखा थाक्ने तथा टाउँको दुख्ने, पढ्दा अक्षरहरु तथा हरफहरु चल्ने गर्दछ । तसर्थ यस्ता अवस्थाहरुमा चश्मा लगाएमा विद्यार्थीहरुको पठन पाठनमा र अन्य व्यक्तिहरुको दैनिक काम काजमा बाधा पर्न पाउँदैन ।
के चश्मा नलगाएमा चश्माको पावर बढ्छ ?
चश्मा नलगाएर चश्माको पावर बढ्दैन साधारणतया बालबालिकामा अदूर दृष्टि (Myopia) भएको खण्डमा १८, २० वर्ष उमेरसम्म उनीहरुको चश्माको पावर बढ्दै जाने संभावना हुन्छ भने दूर दृष्टि (Hypermetropia) भएको खण्डमा उक्त चश्माको पावर घट्दै जाने हुन्छ । चश्मा लगाउनु पर्ने अवस्थामा चश्मा लगाउनाले विद्यार्थीहरुको पठन पाठनमा र अन्य व्यक्तिहरुको दैनिक कामकाजमा बाधा पर्न पाउँदैन। साथै चश्माको प्रयोगले धूलो कसिंगर आदि आँखामा पर्नबाट समेत बचाउँदछ ।
(नेपाल नेत्रज्याेति संघको सहयोगमा )
Share on Twitter