भरतपुर अस्पतालमा कोभिड–१९ विरुद्धकाे ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गरिने
चितवन:भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो ।
कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमोटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो। सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमार्फत भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिए।
यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त गरेको उनले जानकारी दिए। यस अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिको उमेरकालाई सहभागी गराइने उनले बताए। गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधि सेवन गरेका व्यक्तिमा यसको प्रयोग नगर्ने बताइएको छ ।
Share on Twitter