जथाभाबी रङ खेल्दा आँखाको दृष्टि समेत गुम्न सक्छ
काठमाडौं:फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।
तर सामान्य ख्याल नगर्दा स्वास्थ्यमा समस्या निम्तन सक्छ । रमाइलो गर्ने क्रममा जथाभाबी रङ खेल्दा आँखाको दृष्टि समेत गुम्न सक्छ । होलीमा खेलिने रङ, अबिरमा प्राय: विषाक्त रसायन मिसाइएको हुन्छ। त्यसैले रङ वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ। होली खेल्दा सबैभन्दा बढी आँखामा रङ जाने पाइन्छ। त्यसले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रङले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्याउँछ। यो सेतो भागमा रङले गर्दा रातोपना र घाउ हुन सक्छ ।
त्यसैले आँखाको सुरक्षा गर्न जरुरी छ । कपाल भिजेर पनि रङ आँखामा पर्न सक्ने भएकाले कपाललाई राम्रोसँग बाँध्न जरुरी छ । यस्तै टोपी लगाएर खेल्दा कपाललाई सुरक्षित गर्न सकिन्छ । यस्तै आँखा सुरक्षित गर्ने गगल्स र चस्मा लगाउने गर्नुपर्छ । आँखा वरिपरि बेसलीन जस्ता जेली को प्रयोग गरे यसले आँखा भित्र छिर्न सक्ने रङलाई रोक्ने काम गर्दछ ।
यसको साटोमा नरिवलको तेल पनि लगाउन सकिन्छ । यसरी रङ छालाभित्र जान पाउँदैन । आँखामा रङ परे तुरुन्त सफा पानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ । होली खेल्दा सावधानी अपनाइयो भने होलीको रौनक पनि रहिरहन्छ, तपाईँको स्वास्थ्यमा समेत कुनै असर पर्दैन।
Share on Twitter