एक बर्षमा ७० हजार क्षयरोगका बिरामी थपिए
काठमाडौं:नेपालमा यो बर्ष ७० हजार क्षयरोगका बिरामी थपिएका छन् । विश्व स्वास्थ्य संगठनले तयार पारेको पछिल्लो अनुमानित तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ७० हजार नयाँ क्षयरोगका बिरामीहरु थपिएको र १८ हजार व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
सोही अवधीमा राष्ट्रिय क्षयरोग कार्यक्रममा कुल ३७ हजार ४४७ क्षयरोगका बिरामीहरु दर्ता भएका थिए । त्यसमा ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला रहेको बताइएको छ । दर्ता भएका यी बिरामीमध्ये ७२ प्रतिशत फोक्सोको बिरामीहरु र २८ प्रतिशत फोक्सो बाहेक अन्य अंगमा लाग्ने क्षयरोगका बिरामीहरु रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार गत वर्ष अर्थात २०७९ ८० मा दर्ता भएका क्षयरोगका बिरामीमध्ये ६० प्रतिशत बिरामीहरु तराई क्षेत्रका थिए ।
त्यसमा पनि ६८ प्रतिशत बिरामीहरु मधेश, बागमती र लुम्बिनी प्रदेशमा दर्ता भएका थिए । उक्त अवधीमा क्षयरोग रोकथाम कार्यक्रम लागू भएका ४२ जिल्लाहरुमा क्षयरोग बिरामीको घर परिवारको सम्पर्कमा रहेका पाँच वर्ष मुनिका ३ हजार ६५८ बालबालिकाहरुले क्षयरोग रोकथाम उपचार प्राप्त गरेका थिए । विश्वमा औषधि प्रतिरोधी क्षयरोग (डीआर टीबी) को उच्च भार भएका ३० देशहरुमा नेपाल पनि परेको बताइयो । नेपालमा गतवर्ष २ हजार ९०० जनामा औषधि प्रतिरोधी क्षयरोग विकास भएको अनुमान गरिएको थियो तर ६९३ बिरामीहरु मात्रै पत्ता लागेको थियो । त्यसमा पनि ५४६ जना बिरामी मात्रै उपचारको दायरामा आएका थिए ।
डा श्रेष्ठले उपचारमा आएका क्षयरोगका बिरामीको सफलता दर ९२.४ प्रतिशत रहेको र डीआर टीबीका बिरामीहरुको सफलता ८२ प्रतिशत रहेको जनाए । केन्द्रले नेपालमा क्षयरोगको उच्च जोखिम समूहमा कुपोसित व्यक्तिहरु, एचआईभी संक्रमितहरु, मधुमेह भएका व्यक्तिहरु, धूमपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिहरु रहेको उल्लेख गरेको छ । हरेक बर्ष क्षयरोग बारे जनचेतना जगाउन मार्च २४ तारिख विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ आज विश्वभर यो दिवस मनाईदै छ ।
Share on Twitter