एचपीभी खोपको दोस्रो मात्रा दिन सुरू
काठमाडौं: पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरिएो छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।
सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो । ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरिएको हो।
सरकारले ९ वर्ष पूरा भएका र १५ वर्ष नपुगेका किशोरीहरूलाई एचपीभी खोप दिन थालेको हो। पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ । पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।
पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ । कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेशको नारायणी अस्पताल वीरगन्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल वीरेन्द्रनगरमा खोप लगाउन सुरु गरिएको हो । लुम्बिनी प्रदेशको भेरी अस्पतालमा भने मङ्गलबारदेखि खोप लगाउन सुरु गरिएको छ ।
बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा यही चैत ८ गतेदेखि, सुदूरपश्चिमको डडेलधुरा अस्पतालमा यही चैत १५ गतेदेखि दोस्रो मात्रा खोप लगाइने खोप शाखा प्रमुख डा.गौतमले जानकारी दिए । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा लगाएको थियो ।
Share on Twitter